पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई : माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

    1716

    दोलखा – राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

    निर्माण अवधि बढेर आयोजना नै संकटमा पर्ने अवस्था आएपछि स्टिल पाइप जडान र ढुवानीको बाँकी काम इलेक्ट्रोमेकानिकल तर्फको ठेक्का पाएको अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको हो। गत बिहीबार राजधानीमा टेक्सम्याको, एन्ड्रिज र आयोजनाका अधिकारीको बैठकपछि पाइप ढुवानी तथा जडानको बाँकी काम एन्ड्रिजले गर्ने सहमति भएको छ। टेक्सम्याकोले पाइप ढुवानी तथा जडान बाहेक आफूले ठेक्का पाएका मध्ये बाँधस्थलमा विभिन्न गेट राख्ने, हाइड्रो मेकानिकल तर्फका उपकरण जडानको काम गर्नेछ।

    यस्तै पेनस्टकमा माथिल्लो ठाडो सुरुङमा साना स्टिल पाइप जडान गर्ने काम पनि उसैले गर्ने सहमति भएको छ। एन्ड्रिजले तल्लो ठाडो सुरुङमा ठूला पाइप जडानका साथै ढुवानी गर्नेछ। भारतबाट आयोजनास्थलसम्म पाइप ढुवानीको काम टेक्सम्याकोसँगको समन्वयमा एन्ड्रिजले गर्नेछ।

    आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार दुई ठेकेदार कम्पनीबीचको सहमतिमै स्टिल पाइप राख्ने बाँकी काम एन्ड्रिजलाई दिइएको हो। ‘टेक्सम्याकोलाई यसअघि नै त्यही कार्यरत अर्को एन्ड्रिज हाइड्रोमार्फत उसले ढिलाइ गरेका पाइप ढुवानी तथा जडानका बाँकी काम दिने लिखित जानकारी गराइसकेका थियौं,’ श्रेष्ठले भने, ‘दुवै कम्पनीबीच छलफल गरेपछि टेक्सम्याको सहमत भयो, अब ढिलाइ भएको पाइपलाइन जडानको कामले रफ्तार लिन्छ।’
    आयोजना स्रोतका अनुसार यसअघि सुरुको ठेक्का प्रक्रियामा हाइड्रो मेकानिकलतर्फ समेत योग्य भइसकेको एन्ड्रिज हाइड्रोलाई छरितो प्रक्रियाबाट कोटेसनमा बाँकी काम आयोजनाले सुम्पिन लागेको हो। आयोजनामा हाइड्रो मेकानिकलको ठेक्का लाग्दा भारतीय टेक्सम्याकोसहित एन्ड्रिज र जर्मन कम्पनी नोयल गरी तीन कम्पनी योग्य भएका थिए।

    आयोजनाको हाइड्रो मेकानिकलतर्फको भारतीय ठेकेदारले काम नगरेपछि ऊर्जा मन्त्रालयको प्रयासमा उसलाई आयोजनाबाट हटाउने तयारी भइरहेको थियो। ठेक्का बर्खास्ती गरेर जाँदा लामो प्रक्रिया लाग्ने र निर्माण अवधि अझै पछि धकेलिन सक्ने कारण हाइड्रो मेकानिकलतर्फको सुरुमा ठेक्का लिँदा भारतीय ठेकेदारसँगै प्रतिष्पर्धा गरेको एन्ड्रिजलाई टेक्सम्याकोको सहमतिमै बाँकी काम सुम्पने गरी आयोजना नेतृत्वले ‘लबिङ’समेत गर्दै आएको थियो। आयोजनाले दुई साताअघि टेक्सम्याको इन्जिनियरिङलाई चिठी समेत लेखेको थियो।

    बिहीबार दुवै विदेशी कम्पनीका प्रतिनिधिलाई काठमाडौं बोलाएर बाँकी काम सक्नेबारे छलफल गरिएको थियो। आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एन्ड्रिजमार्फत पाइप ढुवानीका सबै कामको रफ्तार बढाएर असारभित्र बिजुली बालिसक्ने जानकारी दिए।

    टेक्सम्याकोको ढिलासुस्तीले यसअघि आयोजना नराम्ररी प्रभावित हुने अवस्थामा पुगेको थियो। आयोजनाका चार ठेकेदार कम्पनीमध्ये सिभिलतर्फको जिम्मा पाएको भारतीय कम्पनी सिनो हाइड्रो, इलेक्ट्रो मेकानिकलतर्फकोे अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो र ट्रान्समिसन लाइनको भारतीय कम्पनी केइसी इन्टरनेसनलका कामको तुलनामा टेक्सम्याकोको कामको गति असाध्यै सुस्त थियो। सिभिलतर्फको ९७ प्रतिशत साथै अन्य ठेकेदारको काम समेत अन्तिम चरणमा पुगिसक्दा समेत आयोजनाको बाँधस्थलमा गेट र पाइप साथै सुरुङमार्ग र पेनस्टकमा पाइप जडान गर्ने जिम्मा पाएको टेक्सम्याकोले आधा काम पनि सकेको थिएन।

    आयोजनाको पेनस्टकतर्फ माथिल्लो ठाडो सुरुङमा तीन सय १० मिटर र तल्लो ठाडो सुरुङमा तीन सय ७३ मिटर पाइप जडान गर्नुपर्ने हुन्छ। तर यसमा आधा काम बाँकी छ। तल्लो ठाडो सुरुङमा चाहिने ७४ वटा पाइपमध्ये १४ वटा मात्र आयोजनास्थलमा पु-याइएको छ भने माथिल्लो ठाडो सुरुङमा चाहिने एक सय २४ वटा पाइपमध्ये २५ वटा मात्र आयोजनास्थल गोंगरमा खसालिएको छ।

    पेनस्टकमा चाहिने ठूला–साना गरेर एक सय ९८ वटा पाइपमध्ये आधाजसो सिन्धुपाल्चोकको सुनकोसीमा खसालिए पनि बाँकी पाइप भारतबाटै ल्याउनुपर्छ। एउटा पाइप बोक्न एउटा ठूलो टेलर चाहिन्छ जुन वीरगन्जबाट आयोजनास्थल दोलखाको लामाबगर पुग्नै १५ दिनसम्म लाग्छ। पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कंक्रिटिङको काम समेत रोकिएको थियो।

    :नागरिक