गैरआवासीयलाई घरआवासीयको स्वागत

    2687

    प्रवासी नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघ (एनआरएन)ले लामै समयदेखि हामी घरआवासीय नेपालीको सेवामा रकम लगानी गर्ने आशा देखाउँदै आएको थियो। अब भने त्यो आशाले मूर्त रूप लेलाजस्तो छ। विदेशमा बसेर कमाएको डलर त्यहीँ सक्नुभन्दा यता ल्याएर हामी दुःखी नेपालीहरूको सेवामा लगाउनु सोहै्र आना स्वागतयोग्य कुरा हो। यो सुखद् अवसरमा हामी घरवासीहरू तपाईं प्रवासीहरूलाई विशेष स्वागत गर्दै एउटा कुरा ख्याल गर्न अनुरोध गर्छौं।

    कुरो के भने देश उसै पनि रेमिट्यान्सबाट चलिरहेको कुरा तपाईंहरूलाई थाहै छ। अब लगानी नै गर्ने कुरा आएपछि हामी झनै आशावादी भएका छौँ। त्यसैले जलविद्युत् आयोजनामा लगानी गर्न आउने नै हो भने फाल्तु खर्च अलि टन्न बोकेर आउनुहोला भन्ने हाम्रो अनुरोध छ। हामी थुप्रै घरवासीहरू तपाईं प्रवासीहरूले ल्याएको रकमबाट हाम्रा धेरै आवश्यकता पूरा गर्ने सोच बनाएर बसेका छौँ। जलविद्युत् आयोजनालाई मात्रै पुग्ने पैसा हिसाब गरेर ल्याउनुभयो भने तपाईंहरूको योजना फेल होला।

    आयोजनामा लगानी गर्ने प्रक्रिया पूरा गर्ने क्रममा तपाईंहरूले सरकारमा रहेका हामी मन्त्री, सचिव र फाइल वरपर कुदाउने राष्ट्रसेवकहरूलाई पर्याप्त खुसी पार्नुपर्नेछ। हाम्रो मन उज्यालो नपारी देश उज्यालो पार्छु भनेर तपाईंहरूले कसरी सोच्न सक्नुहुन्छ र ?

    तपाईंहरूले कुन खोलाबाट विद्युत् उत्पादन गर्नुहुने हो, त्यो खोलाले छुने सबै जिल्लाका जिल्लावासीहरू तपाईंहरूलाई स्वागत गर्न तयार छौँ। त्यसका लागि सबै जिल्लाका हामी नेपाली जनतालाई आयोजनाको सेयर प्राप्त हुनुपर्छ। जिल्लामा बाटो, खानेपानीको व्यवस्था, पुल तथा स्कुलहरू खोलिदिनुपर्छ। हाम्रो जिल्लाबाट बिजुली उत्पादन गरेपछि हामीलाई निःशुल्क बिजुली चाहिन्छ भन्ने कुरा त तपाईंहरूलाई सम्झाइराख्नै नपर्ला।

    तपाईंहरू त्यत्रो अबार्ंैको लगानी लिएर नेपाल पस्दा हामी क्रान्तिकारी पार्टीका कार्यकर्ताहरू, डनहरू चन्दा रसिद बोकेर तपाईंको स्वागतमा उभिनेछौँ। हाम्रो माग अनुसार तपाईंहरूबाट आवश्यक सहयोग प्राप्त नभएमा हामी झोलाबाट निकालेर आयोजनाको अफिसमा पार्टीको झन्डा गाडिहाल्छौँ।

    बेलाबेला हामी अज्ञात घरवासीहरूलाई आफ्नै आँखावरिपरि धमाधम आयोजनाका काम भएको देख्दा असह्य हुन्छ। त्यस्तो बेला हामीलाई पटक्कै निद्रा लाग्दैन। राती नै उठेर हामी विद्युत् उत्पादन गृहमा वा आयोजनाका गाडीहरूमा आगो लगाइदिन पनि सक्छाँै। कहिलेकाहीँ गाउँलेहरू, कामदारहरू, हाकिम वा ठेकेदारहरूबीच हानाहान वा भनाभन भयो भने हामी सबैको आक्रमणको साझा निसाना आयोजना नै हुनेछ। मजदुर हडताल वा तालाबन्दी गर्नु त हाम्रा लागि शौच गरेजस्तै सजिलो कुरा छ। त्यसलाई तपाईंहरूले अन्यथा नलिँदा हुन्छ।

    सरकार पनि तपाईंहरूको संरक्षणमा सदा तत्पर हुनेछ। गाउँलेहरूका असीमित मागका सम्बन्धमा, डनहरूका आक्रमण सम्बन्धमा, क्रान्तिकारीहरूका चन्दा सम्बन्धमा, आयोजनाका कार्यालयहरू वा सवारी साधनहरूमा आगजनी वा तोडफोड हुने सम्बन्धमा सरकारले सदा मूकदर्शक बनेर अहस्तक्षेपको नीति अपनाउँदै तपाईंहरूलाईर् सहयोग पुर्‍याउनेछ।

    यति कुरा मनन गरेर ढुक्क भएर चाँडोभन्दा चाँडो पैसाको बिटो बाँधेर आइहाल्नूस्। हामीलाई यसो घोटीचौथी खुवाइहाल्नूस्। कुरा मात्रै नगर्नूस्, काम गर्नूस्। कुरा गर्न हामी घरवासीहरू छँदै छाँै नि ! तपाईंहरूलाई स्वदेशमा हार्दिक स्वागत छ।

    Source : Nepal