केन्द्रीय विद्युत् लाइन विस्तार हुने

    1170

    तेह्रथुम :  तेह्रथुमको ऐतिहासिक तथा मुख्य व्यापारिक केन्द्रको रूपमा चिनिएको आठराईको संक्रान्ति बजारसहित आठराई गाँउपालिकामा केन्द्रीय विद्युत् लाइन विस्तार गरिने भएको छ । आठराई क्षेत्रको मुख्य व्यापारिक केन्द्र संक्रान्ति बजारमा विद्युत् विस्तारको काम धमाधम भइरहेको छ ।

    तेह्रथुमको जिरीखिम्ती सबस्टेसन हुँदै मिन्छायेम गाउँपालिकाको मोराहाङको ११ केभीए विद्युत् प्रशारण लाइनबाट आठराईमा तत्काल विद्युत्को सुविधा पुर्‍याउने गरी विद्युत् विस्तारको काम भइरहेको विद्युत् प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख दीपक दाहालले जानकारी दिनुभयो । ‘आठराई क्षेत्रका सर्वसाधारणले चाँडै केन्द्रीय विद्युत् लाइनको उपभोग गर्न पाउनेछन्,’ दाहालले भन्नुभयो, ‘आठराई क्षेत्रको पुरै बस्तिमा विद्युत् विस्तार गर्न लागिएको हो ।’

    यही वैशाखभित्रमा यस क्षेत्रमा विद्युत् विस्तार सम्पन्न गर्ने गरी काम भएको हो । प्राविधिकको सहयोगमा स्थानीयस्तरबाटै कामलाई तीव्रता दिइएको स्थानीय अगुवा दीपेश सिटौलाले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको सहयोग र स्थानीयवासीको श्रमदानमा काम भइरहेको हो ।

    गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा विद्युत् पुगेपछि क्रमिक रूपमा सबैतिर विद्युत् विस्तार गरिने तेह्रथुम वितरण केन्द्रका प्रमुख दाहालको भनाइ छ । ‘अहिले संक्रान्ति बजारलाई लक्ष्य गरी विद्युत् विस्तारको काम भइरहेको छ, बजारमा विजुली पुगेपछि आठराईका सबै क्षेत्रमा विद्युत् विस्तार गरिनेछ,’ दाहालले भन्नुभयो । आठराई गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सबस्टेसन निर्माणको लागि तार टाग्ने काम भइरहेको छ । आठराईमा विद्युत् विस्तार नहुँदा सोलार र बैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् आपूर्ति गरिँदै आएको थियो ।

    स्रोत: अन्नपूर्ण पोस्ट