कुलेखानी तेस्रोको ठेकेदार सिनोद्वारा पुनः रकम दाबी

    2897

    Kulikhani III HEPकाठमाडौं, १७ पुस – समयमा नक्सा नपाउँदा विद्युत्गृह र हेडवक्र्सको काम रोकिएको भन्दै कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले फेरि दाबी पेस गरेको छ ।
    आयोजना प्रमुख मधुसूदनप्रताप मल्ललाई मंगलबार सिनोले परामर्शदाता नियुक्त नभएका कारण समयमा नक्सा नपाएको र यसले आयोजनाको विद्युत्गृह र हेडवक्र्स निर्माण अघि बढ्न नसकेको भन्दै थप रकम दाबी गरेको हो । पत्रमा दाबी रकम भने खुलाइएको छैन ।
    यसअघि बन्द, हड्ताल र भौगर्भिक कारणले सुरुङ खन्न समस्या आएको भन्दै सिनोले ११ करोड रुपैयाँ दावी पेस गरिसकेको छ । वैशाख र जेठमा विभिन्न समूहले गरेका बन्द, हड्तालले आयोजनाको काम प्रभावित हुँदा ५ करोड र सुरुङ खन्दा माटो खस्ने समस्या आएको भन्दै सिनोले ६ करोड रुपैयाँ दाबी पेस गरेको छ ।
    नक्सा नपाएपछि समय तालिकाअनुसार आयोजनाको विद्युत्गृह र हेडवक्र्स निर्माण गर्न नपाएको भन्दै उसले निर्धारित समयमा आयोजना नसक्ने बताएको छ । समयमै परामर्शदाता नियुक्त नभए थपिएको समयमा पनि आयोजना नसकिने उसको भनाइ छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले आयोजनाको सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया जारी रहेको जानकारी दिए ।
    गत फागुनमा ३० महिनाभित्र आयोजनाको सिभिल निर्माण सम्पन्न गर्नेगरी प्राधिकरण र सिनोबीच पुनः ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार अब काम सक्न २० महिनामात्र बाँकी छ । त्यसबेला प्राधिकरणले थप ३८ करोड रुपैयाँ भुक्तानी गर्ने सहमति जनाएको थियो ।
    अस्थायी रूपमा परामर्शदाताको काम गरिरहेका नियाज अहमदले पूर्ण रूपमा काम गर्न नपाएकाले पनि प्रभावकारी काम हुन नसकेको आयोजनाका अधिकारी बताउँछन् । “समयमा परामर्शदाता नियुक्ति नभएकै कारण आयोजना फेरि निर्धारित समयमा निर्माण नहुने अवस्था आएको छ,” एक अधिकारीले भने, “कि तुरुन्त नयाँ परामर्शदाता नियुक्ति गर्नुप¥यो कि काम गरिरहेका नियाज अहमदलाई नै पूर्ण अधिकारसहित परिचालन गराउनुप¥यो ।”
    परामर्शदाताको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा परेका उजुरीमा दुवै निकायले काम अघि बढाउने निर्णय गर्दै आयोजना कार्यालयलाई बाटो खुला गरिसकेका छन् । प्राधिकरण व्यवस्थापनले भने आयोजनाले परामर्शदाता चयनका लागि पेस गरेको प्रस्ताव अनुमोदन गरेको छैन । प्राधिकरणले अनुमोदन नगरेका कारण परामर्शदाताको नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको हो । सिभिल निर्माण हुनुअगावै आयोजनाको सुुपरिवेक्षणका लागि परामर्शदाता नियुक्त हुनुपथ्र्यो ।
    आयोजनामा ढिलाइ भएपछि प्राधिकरणले छोटो समय दिई प्रस्ताव आह्वान गर्दा अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), भारतको वाटर एन्ड पावर कन्सल्टेन्ट र टाटा कन्सल्टिङ इन्जिनियर्स गरी तीन कम्पनीले परामर्शदाताका लागि प्रस्ताव पेस गरेका छन् । आयोजनाले कम्पनीको प्राविधिक प्रस्ताव खोले पनि आर्थिक प्रस्ताव खोल्न बाँकी छ । आर्थिक प्रस्ताव खोलेपछि मात्र परामर्शदाता छनोट हुने आयोजनाले जनाएको छ ।
    परामर्शदाताले ठेकेदारलाई काम लगाउने, नक्सा उपलब्ध गराउने, ठेकेदारले पेस गरेको बिललाई अध्ययन गरेर स्वीकृत र सुपरिवेक्षण गर्छ । परामर्शदाता नियुक्त नभएपछि आयोजनाको काम प्रभावित हुनुका साथै सिभिल ठेकेदारले करोडांै रुपैयाँ दाबी पेस गर्ने वातावरण बन्दै गएको आयोजनाका अधिकारी बताउँछन् ।
    १४ मेगावाट जडित क्षमताको यो आयोजनामा प्राधिकरणले हालसम्म २ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । सुरुमा २ अर्ब ४३ करोड रुपैयाँमा आयोजना सम्पन्न गर्ने गरी सन् २००८ अप्रिलबाट काम सुरु भएको आयोजनाको निर्धारित समय सकिएर पुनः थप भएको एक वर्ष बितिसक्दा पनि आधा काममात्र भएको छ ।

    प्रस्तुति: कारोबार