कुलमान आएपछि बिजुली चोरी तीन प्रतिशत घट्यो, डेढ अर्ब बचत

    976

    एक प्रतिशत चुहावट रोकिँदा ५० करोड जोगिने

    काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछ थालिएको चुहावट नियन्त्रण अभियानले सकारात्मक नतिजा देखाउन थालेको छ ।

    कुलमान कार्यकारी निर्देशक भएपछि नेपाल प्रहरी र प्राधिकरणले सञ्चालन गरेको विद्युत् चुहावट अभियान सफल बन्दै गर्दा हाल तीन प्रतिशतको हाराहारीमा चुहावट नियन्त्रण भएको हो ।

    ‘मङ्सिर र पुसमा तीन प्रतिशत चुहावट नियन्त्रण गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘गत साउनदेखि हालसम्म औसतमा दुई प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको थियो । नियन्त्रण अभियानलाई निरन्तर अगाडि बढाएर चालु आवको अन्त्यसम्म ३.५ प्रतिशत विद्युत् चुहावट कम गर्ने लक्ष्य राखिएको छ ।’

    एक प्रतिशत मात्रै विद्युत् चुहावट नियन्त्रण गर्न सकिए ५० करोड बराबरको बचत प्राधिकरणलाई हुने घिसिङको भनाइ छ ।

    प्राधिकरणले पछिल्लोपटक मात्रै २० हजार विद्युत् चोरीमा संलग्नलाई कारबाही गरेको छ । त्यसले पनि सकारात्मक सन्देश दिएको छ । हुकिङ गरेर विद्युत् चोरी गर्नेलाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

    हुकिङ नियन्त्रण अभियान अगाडि बढाएको प्राधिकरणले औद्योगिक करिडोरमा हुने प्राविधिक चुहावट नियन्त्रण अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ ।

    उद्योगमा पावर बैंक राख्न आग्रह 

    प्राधिकरणले भोल्टेजमा हुने उतार चढावलाई नियन्त्रण गर्न पावर बैंक राख्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

    प्रसारण लाइन, ट्रान्सफर्मर तथा भारतबाट आयात गरिएको विद्युत्मा कहिलेकाहीँ भोल्टेज तलमाथि हुँदा उद्योगले समस्या व्यहोरेपछि पावर बैंक राख्ने अवधारणा अगाडि सारिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले केही उद्योगले पावर बैंक राख्न सुरु गरेको बताउनुभयो ।

    यस्तै प्राधिकरणले भोल्टेजलाई समान बनाउन सवस्टेसन तथा ट्रान्सफर्मरहरुमा समेत ‘स्टेपलाइजर’ राख्न सुरु गरेको छ । स्वच्छ ऊर्जा प्रदान गर्न त्यस प्रकारको उपकरणले सहयोग गर्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

    स्रोत:कारोबार दैनिक