कुलमानले भने– ‘२०७५ मंसिरपछि वर्षकाे ६ महिना बिजुली बेच्ने अवश्थामा पुग्छाैं’

    1091

    काठमाडौँ– विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।

    हालसम्म प्राधिकरणले रु. ९ अर्ब ६ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप रु ६ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ ।

    प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष करिब रु १४ अर्ब बराबरको विद्युत् आयात भएको जानकारी दिए ।

    उनका अनुसार गत वर्ष रु १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार ५२२ मूल्यको विद्युत् आयात गरिएको थियो । चालु आवको अन्त्यसम्म हिसाब गर्ने हो भने करिब रु एक अर्ब बढीको मात्रै विद्युत् थप आयात हुनेछ ।

    ऊर्जा सङ्कटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ । उनका अनुसार ३२ मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो चालू आवकै अन्त्यसम्ममा सञ्चालनमा आउने छ । ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना बनेपछि भने प्राधिकरणले वर्षको ६ महिना विजुली बेच्नका लागि समेत पुग्ने उनले बताए । २०७५ मंसिरसम्ममा माथिल्लाे तामाकाेशीकाे एउटा युनिट सञ्चालनमा ल्याइसक्ने तयारी रहेकाे उनले बताए।

    स्वदेशमा उत्पादन भएको विद्युत् स्वदेशमै खपत बढाउने उपायहरुका विषयमा खोजी गर्नुपर्ने उनले बताए । अाैद्याेगिक क्षेत्रकाे लाेडसेडिङ पनि चाँडै हट्ने उनले बताए ।  प्राधिकरणले विद्युत् व्यवस्थापनलाई चुस्त बनाएर लोडसेडिङको अन्त्य गरेको भन्दै उनले अब काठमाडौं उपत्यकामा प्रयोग भएका ट्रान्सफर्मरको क्षमता विस्तार गरिने बताए ।

    प्रतिशतको हिसावमा गत वर्षभन्दा १.४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

    गत वर्ष रु ३२ अर्ब कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष रु १२ अर्ब बढी रु ४४ अर्ब आम्दानी गर्नेछ । गत वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष छ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

    यो वर्ष प्राधिकरणले एक अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको र गत वर्ष एक अर्ब ७३ करोड ९ लाख युनिट बिजुली आयात भएको थियो । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १०५ मेगावाट बिजुली उत्पादन थप भएको उनको भनाइ छ । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

    हाल विद्युत् प्राधिकरणले साँझ ९२० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिँदै उनले त्यसलाई खपत कसरी बढाउने विषयमा छलफल भइरहेको उल्लेख गरे ।

    चुहावट ४ प्रतिशतले घट्यो 

    प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको जनाएको छ । त्यसबाट प्राधिकरणलाई रु एक अर्ब २० करोड बराबरको आम्दानी भएको छ ।

    चालु आवको अन्त्यसम्म करिब पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    हुँदै नभएको महसुलको गलत प्रचार 

    कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताए ।

    विभिन्न आयोजनाले घर भाडामा लिँदा बाँकी रहेको केही रकम प्राधिकरणले तिर्नुपर्ने हुनसक्ने तर प्रचार गरिएजस्तो रु. ५० करोड बक्यौता रहेको भन्ने प्रचार असत्य रहेको बताए ।

    प्राधिकरणले लिमिटेडलाई रु ४४ लाख मात्रै महसुल तिर्न बाँकी रहेको र त्यो पनि विभिन्न आयोजनाका नाममा रहेको महसुल मात्रै रहेको जानकारी दिए । प्राधिकरणले लिमिटेडलाई के कति महसुल तिर्नुपर्ने हो सो को जानकारी दिन र आधिकारिक पत्राचार गर्न आग्रह गरेको समेत उनको भनाइ छ । रासस