सुरक्षित विद्युत् सेवा अभियान सुरु गर्दै प्राधिकरण

    1428

    काठमाडौः मुलुकलाई लोडसेडिङमुुक्त बनाउन सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणले अब सुरक्षित र भरपर्दो विद्युत् सेवा अभियान अघि बढाउने भएको छ ।

    ११ बर्षदेखि लोडसेडिङको चरम समस्या भोग्दै आएका सर्वसाधारणलाई आन्तरिक तथा वाह्य विद्युत् व्यवस्थापनमार्फत लोडसेडिङमुक्त बनाएको प्राधिकरणले पहुँचसँगै सुरक्षित र भरपर्दो विद्युत् सेवा अभियान अघि बढाउन लागेको हो ।

    सर्वसाधारण ग्राहकले भोग्दै आएको लोडसेडिङ अन्त्य गर्न सफल भएकोले अब गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा दिने कार्यक्रम अघि बढाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “भर्खर विद्युत्को पहुँच पु-याएका छौं,  अब यसको सुरक्षित र भरपर्दो विद्युत् सेवा प्रवाहका लागि कार्यक्रम अघि बढाउँछौ,”  उनले भने, “सुरक्षित विद्युत् सेवाका लागि पूर्वाधारहरू सुधारमा र उत्पादन वृद्धिमा प्राधिकरण अब केन्द्रित हुन्छ ।”

    विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपालले संयुक्त रूपमा आगामी २५ चैतमा आयोजना गर्न लागेको विद्युत् सुरक्षा दिवसबारेको कार्यक्रममा उनले जलविद्युत् आयोजना निर्माण, वितरण र प्रसारणमा विद्युतीय सुरक्षालाई विशेष ध्यान दिएर प्राधिकरण अघि बढ्न लागेको जानकारी दिए ।

    पछिल्लो समयमा हावाहुरीसँगै पोल ढलेर र तार चुँडिएर बेला बेलामा विद्युत् सेवा अवरुद्ध हुने, चट्याङबाट बेलाबेलामा ट्रान्सफर्मर क्षतिग्रस्त हुनुले जलविद्युत्को प्रणालीमा समेत असुरक्षा देखिएको छ । यस्तै, बेलाबेलामा विद्युत् वितरण गर्दा, सुरुङ खन्दा प्राविधिक कर्मचारीहरूले निधन हुने गरेको छ ।

    सहरी क्षेत्रहरूमा ११ केभी वितरण लाइन राखिएको क्षेत्रभन्दा १.५ मिटर टाढा, ३३ केभीबाट ३ मिटर तथा ६६÷१३२ केभीबाट ९÷९ मिटर टाढा मात्र घर लगायतका पुर्वाधार बनाउनुपर्ने भए पनि टाँसेर बनाउने प्रवृत्तिले अझ विद्युत् सुरक्षामा खतरामा परेको छ ।

    ग्रामीण क्षेत्रमा अझै पनि नाङ्गो तार हुनु, गाउँकै रुखलाई पोलको रूपमा उपयोग गर्नु, जीर्ण हुन्जेल पोल, तार लगायतको परिवर्तन गर्न नसक्नु लगायतका कारणले विद्युत् सेवामा उच्च जोखिम देखिएको छ ।

    यस्तो अवस्थामा प्राधिकरणले सुरक्षाप्रतिको संवेदनशीलता र सचेतनाको अभावमा विद्युत् कामदार र वा उपभोक्ता दुवै वर्ग विद्युत् दुर्घटनाको जोखिममा रहेको तथ्यलाई मनन गरी विद्युत् सुरक्षाप्रति सचेतना जगाउन विशेष रूपमा सञ्चालन गर्नुपर्ने आवश्यक रहेको विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले बताए ।

    भरपर्दो र सुरक्षित विद्युत् सेवाका लागि विद्युत् प्राधिकरण स्मार्ट मिटर र ग्रिडको अवधारणा पनि अघि सारेको छ । अहिलेको प्रणाली विद्युत्को पहुँच पु-याउनका लागि मात्र उपयुक्त रहेको भन्दै यसलाई परिवर्तन गरेर भरपर्दो बनाउन लागिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

    “अहिलेका प्रणालीलाई व्यापाक सुधार गरेर अझ भरपर्दो विद्युत् सेवाका लागि अघि बढाएका छौं,” उनले भने, “पहिला १४ घन्टा लोडसेडिङ हुँदा हावाहुरीको समस्या नै थाहा हुँदैनथ्यो तर अहिले त्यो समस्या जटिल रूपमा देखिएको छ, वर्षाको बाढी, पहिरोभन्दा हावाहुरीले ट्रिपिङ हुने क्रम बढेको छ, यसका लागि प्रणाली सुधार आवश्यक छ ।”

    ‘विद्युत् आयात धेरै छैन’

    विद्युत् प्राधिकरणले भारतबाट धेरै विद्युत् आयात नगरिएको दाबी गरेको छ । कार्यकारी निर्देशक घिसिङले गत वर्षको तुलनामा न्यून मात्रै आयात बढेको बताए ।

    उनका अनुसार गत वर्ष १४ अर्ब बराबरको १ हजार ७ सय ३० गिगावाट आवर विद्युत् आयात गरिएकोमा यस वर्ष १३ प्रतिशत बढेर १५ अर्ब रूपैयाँ बराबरको १ हजार ९ सय ७२ गिगावाट आवरमात्र पुग्नेछ ।

    स्रोत: कारोबार