कालंगागाड जलविद्युत् आयोजनाको निर्माण सुरु

    2653

    कार्तिक १०, २०७३- जिल्लाको बुंगल क्षेत्रमा पर्ने ६५ मेगावाट क्षमताको कालंगागाड जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । आयोजनाको निर्माणमा १० वटा बैंकहरू र केही व्यापारीहरूले लगानी गरेका छन् ।

    ०६५ देखि सम्भाव्यता अध्ययन सुरु भएको उक्त आयोजनाको निर्माणका लागि १० वटा बैंकहरूसँग ऋण लगानी सम्झौता भइसकेपछि आयोजनाको निर्माण कार्य सुरु भएको हो । आयोजनाले निर्माणका लागि आवश्यक पर्ने २ सय रोपनी जग्गा खरिद गरिसकेको र सडक निर्माणका साथै फराकिलो बनाउने काम भइरहेको छ ।

    केही समयभित्र टनेल निमार्णको काम सुरु हुने र सन् ०२० भित्र आयोजना सकिने लक्ष्य रहेको प्रवद्र्धक कम्पनी सानीगाड हाइड्रो प्रालि तथा कालंगागार्ड हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले जानकारी दिए । झन्डै १० अर्ब रुपैयाँको लागत अनुमान गरिएको उक्त आयोजनाबाट ६५ मेगावाट विद्युत् उत्पादन हुने बताउँदै मल्लले यो आयोजना निजी क्षेत्रले निर्माण गर्न लागेको देशको सबैभन्दा ठूलो आयोजना भएको दाबी गरे ।

    आयोजना निर्माणका लागि आवश्यक केही सामग्री खरिद गरिसकेको र बाँकी कामहरू तीव्र रूपमा सुरु भइरहेको मल्लले बताए । सानीगाडले प्रवद्र्घन गर्न लागेको यो आयोजनाको ३ ठाउँमा संरचना निर्माण हुनेछ । दहबगरमा ३८.४६ मेगावाट इन्टेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्नेछ । कालंगागाडले प्रवद्र्घन गर्न लागेको १५.३३ मेगावाटको खिरातडीको पाउटामा इन्टेक निमार्ण हुने र सुनकुडा गाविसको घोडादाउनमा पावर हाउस निर्माण गरिनेछ । सानीगाडले प्रवद्र्घन गर्न लागेको १०.०७ मेगावाट क्षमताको विद्युत् कफलसेरीको जुनैबाट झारेर पिपलकोट गाविसको खौलाधारमा पावरहाउस निर्माण गरिने बताइएको छ ।

    यसरी ३ वटा आयोजनाको विद्युत्लाई एकै ठाउँमा जोडेर ६४.४९ मेगावाट विद्युत् उत्पादन हुने भएको हो । जलविद्युत् आयोजना निर्माणका लागि बैंकहरूले ७५ प्रतिशत, स्थानीयको १० र व्यापारीको १५ प्रतिशत सेयर लगानी हुने व्यवस्थापक तीर्थराज चटौतले जानकारी दिए ।

    बझाङका दुर्गम गाउँमा आयोजना निर्माण सुरु भएपछि यस क्षेत्रमा खुसीयाली छाएको छ । स्थानीयबासी मदन कुँवरका अनुसार विकट ठाउँमा यस्ता ठूला आयोजना बनेपछि यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बुङलबासीले अपेक्षा गरेका छन् । विद्युत् निर्माण कार्यसँगै यस क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनुका साथै रोजगारीका लागि स्थानीय युवाले बिदेसिनुपर्ने स्थितिको समेत अन्त्य हुने आशा गरेको कुवँरले बताए ।

    आयोजना निर्माणका क्रममा हजारौंको संख्यामा रोजगारी सिर्जना हुने र निर्माण भएपछि ३ सय ५० जनाभन्दा बढी स्थानीयले रोजगारी पाउने मल्लले बताए । यो आयोजनाले नेपालमा भइरहेको लोडसेडिङको समस्या कम गर्न सहयोग गर्ने र बझाङको आर्थिक विकासमा कोसेढुंगा बन्ने उनले आशा व्यक्त गरे ।

     

    स्रोत :कान्तिपुर