काबेली बी–१ मा स्थानीयका लागि सेयर खुला

    1350

    पाँचथर र ताप्लेजुङको सीमा भएर बग्ने काबेली खोलामा निर्माणाधीन काबेली बी १ मा स्थानीयका लागि सेयर निष्कासन गरिएको छ । आयोजना निर्माण कम्पनी अरुण काबेली हाइड्रोपावरले स्थानीयका लागि सेयर निष्कासन गरेको हो ।

    १५ लाख कित्ता सेयर निष्कासन

    कम्पनीले आयोजना क्षेत्रभित्रका पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ लाख कित्ता सेयर निष्कासन गरेको छ । १५ लाख कित्ता सेयरमध्ये पाँचथरका तीन र ताप्लेजुङका चार गाविसका बासिन्दाका लागि सेयर निष्कासन गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

    सेयर पाउने प्रावधान

    पाँच वर्षसम्म जिल्लामा स्थायी बसोवास गरेका बासिन्दाले मात्रै सेयर भर्न पाउने प्रावधान राखिएको छ । पाँचथरका आयोजना प्रभावित क्षेत्र नागी, थर्पु र अमरपुर गाविसका बासिन्दा र ताप्लेजुङका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका बासिन्दाले ६ लाख कित्ता सेयर पाउनेछन् ।

    न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म सेयर किन्न पाइने सेयरका लागि ३ जेठदेखि आवेदन दिन पाइनेछ । प्रतिकित्ता एक सय रुपैयाँको दरले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने प्रावधान रहेको कम्पनीले जनाएको छ । कम्पनीले सिद्धार्थ क्यापिटललाई सेयर निष्कासनको बिक्री प्रबन्धक तोकेको छ । लगानीकर्ताले अरुण काबेली पावरको कार्यालय थापाथली, सप्तकोसी डभेलपमेन्ट बैंक फिदिम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रवि, राँके पाँचथर, फिदिम र ताप्लेजुङमा आवेदन फारम बुझाउन सक्नेछन् ।

    संस्थापक समूहको डेढ अर्ब लगानी

    कुल १ अर्ब ५० करोडको अरुण काबेली पावरको आयोजनमा संस्थापक समूहको १ अर्ब ५ करोड रुपैयाँ लगानी छ । १५ करोड स्थानीय र बाँकी ३० करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।  अरुण भ्याली हाइड्रोपावर समूहको प्रमुख लगानी रहेको आयोजनामा दुई जलविद्युत् कम्पनीकै लगानी छ ।

    चार सय करोड लगानी

    आयोजना निर्माणका लागि ४ सय करोड लागत अनुमान गरिएको छ । मेचीमा निर्माण भइरहेका आयोजनामध्ये लागतको हिसाबले पनि काबेली बी १ को लागत उच्च रहेको छ । काबेली ए निर्माण सुरु हुन नसकिरहेको अवस्थामा काबेली बी १ नै पहिलो आयोजना बनेको हो । कुल लगानीमध्ये ३० प्रतिशत लगानी आयोजना निर्माणकर्ताले लगाउने सहमति भएको छ । त्यसबाहेकको ७० प्रतिशत लगानी विभिन्न वित्तीय संस्था तथा बैंकले उपलब्ध गराउने सहमति भइसकेको छ ।

    आयोजनामा ९ बैंकको लगानी

    नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ९ वटा बैंकले आयोजनाका लागि लगानी गर्न लागेका हुन् । उनीहरूसँग पहिलो चरणको सम्झौता पूरा भएको निर्माण पक्षले जनाएको छ ।

    दुई घन्टा लोडसेडिङ घट्ने

    काबेली बी १ निर्माण पूरा भएपछि हाल भइरहेको ११ घन्टे लोडसेडिङ अवधि दुई घन्टा कम हुनेछ । आयोजनाका अनुसार कात्तिक मसान्त ०७३ भित्र निर्माण पूरा गर्ने गरी काम भइरहेको छ । आयोजनाका लागि समयमा काबेली करिडोर निर्माण हुन नसक्नु मुख्य समस्या हो । ‘विद्युत् उत्पादन गरेर पनि बिक्री गर्ने ठाउँ नहुँदा त्यसको अर्थ रहन्न । पहिलो कुरा बेच्ने ठाउँ सरकारले तयार गरिदिनुपर्‍यो,’ आयोजनाका टेक्निकल डाइरेक्टर हस्तमान राईले भने, ‘सरकारले विद्युत् आवश्यक छ, किन्छु भनेर मात्रै भएन, त्यसका लागि पूर्वाधारको विकास गरिदिनुपर्छ ।’

    स्रोत :  नया पत्रिका