ऊर्जा क्षेत्रको विकास गर्न स्पष्ट नीतिको खाँचो : मन्त्री बोगटी

    1135

    काठमाडौं, मंसिर ८ – नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल विद्युत् प्राधिकरणको दोस्रो महाधिवेशन आजदेखि यहाँ सुरुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले दुई दिने महाधिवेशनको उद्घाटन गर्दै नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्पष्ट नीतिको जरुरी रहेको बताए ।

    मन्त्री बोगटीले भने, ‘ सरकारले विद्युत् क्षेत्रको विकासका लागि पछिल्ला दिनहरूमा सकारात्मक सुरुवात गरेको छ, यसलाई सहयोग गर्नु सबै कर्मचारीको दायित्व र कर्तव्यसमेत हो।’

    एकीकृत नेकपा(माओवादी)का ऊर्जा विभाग प्रमुख लिलामणि पोखरेलले योजनाविहीनताका कारण विद्युत् प्राधिकरण टाट पल्टने अवस्थामा पुगेको र यसलाई सुधार गर्नका लागि वैज्ञानिक सोच र योजनाको जरुरत रहेको बताए ।

    माथिल्लो कर्णाली अरुण तेस्रोजस्ता आयोजनाको सम्झौता नसच्याइकन कार्यान्वयनमा लैजान नसकिने भन्दै नेता पोखरेलले नेपालको लागि थर्मलप्लान्ट र डिजेलप्लान्ट कुनै पनि अर्थमा जायज नहुने बताए ।

    एमाओवादीका जनवर्गीय सङ्गठन इन्चार्ज जनार्दन शर्माले
    मुलुकलार्ई विद्युत् भार कटौतीबाट मुक्त राख्नका लागि सरकारले अगाडि सारेको योजनालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नका लागि सहयोग गर्न सबैमा आग्रह गरे ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष पवित्रा तिमल्सेनाले मन्तव्य राखेका थिए ।

    रासस