उर्जामन्त्रालयमा मन्त्री र कर्मचारीबीच भनाभन

    1418
    नेपाल विद्युत प्राधिकरकणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई उर्जामन्त्री जनार्दन शर्माले राजीनामा दिन भनेपछि मन्त्रालयमा मंगलबार दिउँसो कर्मचारी र मन्त्रीबीच नै भनाभन भएको छ ।
    मन्त्रीको कार्यकक्षमा पुगेका कर्मचारीले मन्त्रीलाई कार्यकारी निर्देशक हटाए आफूहरु आन्दोलनमा जाने चेतावनी दिएका थिए ।
    “तत्काल लोडसेडिङ हटाउने र घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने लिखित प्रतिबद्धता गर्नुस्, म मुकेशराज काफ्लेलाई हटाउँदिनँ,” उर्जामन्त्री जनार्दन शर्माले मंगलबार कार्यकक्षमा पुगेका कर्मचारीहरुलाई भन्दै थिए ।
    “हामीले किन प्रतिबद्धता गर्ने ? नयाँ आउने कार्यकारी निर्देशकले लोडसेडिङ हटाउने र प्राधिकरणलाई नाफामा लैजाने तपाईं लिखित प्रतिबद्धता गर्नुस्, मुकेशलाई आजै हटाउँदा हुन्छ,” कर्मचारीका प्रतिनिधीहरुले पनि मन्त्रीसँग यस्तो सवाल जवाफ गर्दै थिए ।
    ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका कर्मचारी संघ, कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्का अध्यक्षबीच मंगलबार दिउँसो मन्त्री शर्माको कार्यकक्षमा यसरी भनाभन भएको थियो । ऊर्जामन्त्री शर्माले समय नदिएपछि एक्कासि मन्त्रालयमा भेट्न पुगेका उनीहरुबीच चर्काचर्की भएको हो । पूर्वमन्त्रीले गठन गरेको कार्यसम्पादन मूल्यांकन समितिले काफ्लेलाई असफल भएको प्रतिवेदन दिएकाले राजीनामा दिन भनेको भन्दै ऊर्जामन्त्री काफ्लेलाई हटाउनुको कारण बताइरहेका थिए ।  “मैले समिति गठन गरेको पनि हैन र कार्यसम्पादन मूल्यांकन पनि गरेको हैन । असफल भएपछि राजीनामा दिन भनेको हो,” उनले कर्मचारी संगठनका प्रतिनिधिलाई भने ।
    ‘तपाईंले मन्त्रालय सम्हालेको तीन साता भइसकेको छ । अझसम्म मुकेशसँग आधा घण्टा कुरा गर्नुभएको छैन । के आधारमा हटाउँदै हुनुहुन्छ ?’ भनेर कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले मन्त्रीलाई प्रश्न गरेका थिए । “तपाईंले काफ्लेसँग कुरा नै नगरी हटाउन खोज्दै हुनुहुन्छ, हामीलाई मान्य छैन,” उनको चेतावनी थियो ।
    मन्त्री शर्माले मन्त्रिपरिषद्मा लगेर प्रक्रियागत रूपमा मात्र काफ्लेलाई हटाउने बताएको कर्मचारी संघका अध्यक्ष भट्टराईले बताए । काफ्लेको समय तीन महिनामात्र बाँकी भएको र विधिसंगत नियुक्त भएको व्यक्तिलाई हटाउनु हुँदैन भन्ने अडान उनीहरुको थियो । कर्मचारी संगठनहरुले काफ्लेलाई हटाए नयाँ आउने कार्यकारी निर्देशकलाई पनि प्राधिकरण प्रवेश गर्न नदिने भनेपछि आक्रोेशित हुँदै मन्त्रीले भने, “तपाईंहरु काफ्लेसँग मिटिङ गरेर मलाइ भेट्न आउनुभएको हो । सबै काफ्लेको भाषा बोलिरहनु भएको छ ।”
    चर्काचर्की यतिमा सीमित भएन । फेरि भट्टराईले भने, “काफ्लेलाई तपाईंले हटाउन खोज्नुभएको छ, यो सहज छैन ।”
    विधि र प्रक्रियाबाट नियुक्त भएको व्यक्तिलाई हटाउन नमिल्ने र नयाँ आउनेले पनि यही हविगत भोग्नुपर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको भट्टराईले बताएका थिए । नयाँ आउने कार्यकारी निर्देशक पनि प्रतिस्पर्धाबाट आउनुपर्ने भनाइ कर्मचारी संगठनहरुको थियो ।
    स्रोत : १२ खरी