मुकेशराज काफ्ले असफल भएकाले राजीनामा गर्न भनेको हुँ : ऊर्जामन्त्री

    2179
    janardan.jpg
    ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले असफल भएकाले राजीनामा गर्न भनेको बताएका छन् । “मन्त्रालयले गरेको करार सम्झौताअनुसार कार्यसम्पादनमा असफल देखिएकाले उहाँलाई राजीनामा दिएर सहयोग गर्नुस् भनेको हो,” मन्त्री शर्माले बाह्रखरीसँग भने, “कार्यसम्पादन मूल्यांकन मैले गरेको हैन र मेरो पालामा पनि भएको हैन । मूल्यांकनमा असफल भएपछि राजीनामा गर्नमात्र भनेको हुँ । तीन महिना बाँकी छ, अब असफल भएपछि किन बसिरहनुहुन्छ ? त्यसैले राजीनामा दिनुस् भनेको हो ।” आफूले कुनै आग्रह÷पूर्वाग्रह राखेर काफ्लेको राजीनामा नमागेको मन्त्री शर्माले दाबी गरे ।
    कार्यकारी निर्देशक काफ्लेलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने जानकारी मन्त्री शर्माले दिए । “अब उहाँलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु । यस विषयमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ,” उनले भने । आफू विद्युत् प्राधिकरण व्यवस्थापनको कामप्रति असन्तुष्ट रहेको मन्त्रीले बताए । कार्यकारी निर्देशक काफ्लेले भने आफूलाई कसैले हटाउन नसक्ने भन्दै मन्त्रीलाई चुनौती दिइसकेका छन् । प्रधानमन्त्रीले भनेमात्र राजीनामा दिने उनले स्पष्ट पारेका छन् । जो मन्त्री भएर आएपनि उसको पहिलो काम आफूलाई हटाउने प्रयासमात्र हुने गरेको उनको भनाइ छ ।
    स्रोत : १२ खरी