प्रेस नोट : ऊर्जामन्त्री र विश्व बैंकका प्रतिनिधिबीच उर्जा सहकार्यका विषयमा छलफल

    1534

    ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकका प्रतिनिधिबीच उर्जा सहकार्यका विषयमा छलफल भएको छ । विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कामाताको टोलीसँग भएको छलफलमा उर्जा क्षेत्रमा विश्व बैंकले हाल गरिरहेको सहयोग र आगामी दिनमा गर्न सकिने लगानीका विषयमा कुराकानी भएको छ ।
    छलफलको क्रममा विश्व बैंकका प्रतिनिधिले नेपालमा संचालित जलविद्युत आयोजनाको काममा देखिएको गतिमन्दताको विषयमा मन्त्री शर्मासँग जिज्ञासा राख्नु भएको थियो ।
    जवाफमा मन्त्री शर्माले विभिन्न आयोजनाको काममा ढिलाई हुनुमा केही हदसम्म नीतिगत पक्ष पनि जिम्मेवार रहेकोले आफूले त्यसलाई समाधान गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । मन्त्री शर्माले लाईसेन्स वितरणमा रहेको प्रक्रियागत झमेला र कार्यान्वयनमा देखिएको अन्तरमन्त्रालयगत अवरोध हटाउने गरी एकीकृत लाइसेन्स नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । यस्तै मन्त्री शर्माले नेपालमा पानीको बहुउपयोगिता वारे दीर्घकालीन नीतिको आवश्यकता औंल्याउनुभयो ।
    विश्व बैंकका प्रतिनिधि कामाताले नेपालमा विद्युत प्रसारण लाईनको स्तरोन्नती र विस्तारको क्षेत्रमा सरकारसँग मिलेर काम गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो ।