अख्तियारद्धारा कुलेखानी तेस्रोको ठेक्का सम्बन्धी विवरण माग

    2333

    काठमाडौं, ९ असोज –

    hydroelectric-turbine-copyअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेखानी तेस्रो जलविद्युत् आयोजनमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण जडान ठेक्का सकारेको चीनको झिजियाङ जिनलुन कम्पनी सम्पर्कविहीन भएको बारे यथार्थ विवरण उपलब्ध गराउन आयोजना प्रमुखलाई पत्राचार गरेको छ ।

    कारोबार दैनिकमा समाचार प्रकाशित भएपछि अख्तियारले गत असोज ६ गते आयोजना प्रमुख मधुसूदनप्रताप मल्ललाई पत्राचार गरी यथार्थ विवरण माग गरेको हो । आयोजनाले विवरण अख्तियारमा पठाउन तयारी गर्दैछ ।  सन् २०१० मा उसले आयोजनाको इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरण जडानको ठेक्का सकारेको थियो ।
    सिभिल निर्माण कामले गति लिइरहेको बेला झिजियाङ जिनलुनका कारण हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण जडान अनिश्चित भएको छ । ठेक्का सकारेको कम्पनीले उपकरण फ्याब्रिकेसन गर्न आवश्यक कच्चापदार्थसमेत आपूर्ति गरेको छैन ।
    सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले प्रभावकारी काम नगर्ने र विद्युत् प्राधिकरणले समयमा परामर्शदाता नियुक्त नगर्दा आयोजनाको काम साढे २ वर्ष ढिलाइ भइसकेको छ । आयोजनाको समय ३० महिना थपेर आगामी सन् २०१४ को सेप्टेम्बरलाई तोकिएको छ ।
    आयोजना सुपरिवेक्षणका लागि भारतको वाटर एन्ड पावर कन्सल्टेन्ट लिमिटेड (वापकोर्स) ले काम सुरु गरिसकेको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम अनिश्चित भएपछि परामर्शदाता वापकोर्सलाई समेत काम गर्न समस्या भएको छ ।
    सिनोले समयमा नक्सा नपाएको, साइट उपलब्ध नगराएको र बन्द, हड्तालले गर्दा काम गर्न नसकेको भन्दै झन्डै ७० करोड रुपैयाँ दाबी पेस गरिसकेको छ ।
    आयोजनाको समय सकिन करिब १४ महिना मात्र बाँकी छ । सन् २०११ को डिसेम्बरमा २ अर्ब ४३ करोड रुपैयाँमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा लागत १ अर्ब ८६ करोड रुपैयाँ बढेर ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
    आयोजनाले यो रकम स्वीकृतिका लागि सञ्चालक समितिमा पेस गरेको छ । सञ्चालका समितिबाट निर्णय हुन बाँकी छ । हालसम्म आयोजनाको ६५ प्रतिशत काम सकिएको छ । यस अवधिमा २ अर्ब ३ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको मुख्य काम सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।
    आयोजनाको जडित क्षमता १४ मेगावाट छ । यो बनेपछि कुलेखानीको जडित क्षमता १ सय ६ मेगावाट पुग्नेछ । सन् २०११ को डिसेम्बरमा सम्पन्न गर्ने गरी कुलेखानीको निर्माण २००८ को अप्रिलबाट सुरु भएको हो ।

    प्रस्तुति: कारोबर