५ वर्षमा थप ६७ मेगावाट विद्युत् उत्पादन गर्दै बीपीसी

    2276
    सार्वजनिक तथा निजी लगानीमा सञ्चालित बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आगामी ५ वर्षमा थप २ आयोजना सम्पन्न गरी ६७.५ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आँधीखोला, झिमरुक र खुदी गरी २६ मेगावाट क्षमताका ३ साना आयोजना सम्पन्न गरिसकेको बीपीसीले ३० मेगावाटको न्यादी र ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजना आगामी सन् २०२० सम्पन्न गर्ने लक्ष्य राखेको छ । ६० मेगावाटको खिम्तीमा पनि बीपीसीको १७ प्रतिशत सेयर छ । थप २ आयोजना सम्पन्न भएपछि बीपीसीका आयोजनाहरूको जडित क्षमता ९३.५ मेगावाट पुग्नेछ ।
    २०२० जुलाईदेखि खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा जानेछ । आयोजनाको आधा स्वामित्व प्राधिकरणमा गएपछि हालको पीपीए सम्झौता पनि सकिनेछ । नयाँ पीपीए सम्झौता हुने भएपछि हिमाल पावरबाट बीपीसीले पाउने लाभांशमा पनि भारी गिरावट आउनेछ ।
    न्यादी र काबेली दुवै आयोजना आगामी पुसदेखि निर्माण सुरु हुने बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । “दुवै आयोजनाको निर्माण सुरु गर्न ठेकेदार नियुक्तिको काम भइरहेको छ,” उनले भने, “कात्तिकसम्ममा ठेकेदार चयन गरेर ढिलोमा पुस अन्तिमदेखि दुवै आयोजनाको काम सुरु हुनेछ ।”
    आयोजना निर्माणका लागि बीपीसीले ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । त्यस्तै, विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) हुनुका साथै स्वदेशी तथा विदेशी बैंकसँग ऋण सम्झौता पनि भइसकेको छ । २ आयोजना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । वीपीसीले दुवै आयोजना सहायक कम्पनीमार्फत् बनाउँदैछ ।
    काबेलीमा विश्व बैंक र बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को झण्डै ८ अर्ब र प्रवद्र्धकको स्वपुँजी गरी ९ अर्ब ९६ करोड लगानी हुँदैछ । त्यस्तै, न्यादी बनाउन एभरेष्ट बैंकको सहवित्तीयकरणमा प्रवद्र्धकको समेत गरी ६ अर्ब रुपैयाँ लगानी हुँदैछ ।
    बीपीसीले सय मेगावाटको तल्लो मनाङ आयोजना निर्माणको पनि तयारी गरिरहेको सीईओ श्रेष्ठले जानकारी दिए । आयोजना अघि बढाउन साझेदारीका लागि विभिन्न समूहसँग छलफल भइरहेको उनले बताए । उनका अनुसार आयोजनाको सम्भाव्यता अध्ययनको काम भइरहेको छ । काबेलीबाट वार्षिक २० करोड ५० लाख र न्यादीबाट १६ करोड ८५ लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।
    सरकारले सांग्रिला इनर्जीलाई ८७ करोड रुपैयाँमा बीपीसी बेचेको हो । कम्पनीमा सांग्रिलाको ६८.९५ प्रतिशत, सर्वसाधारणको १०, सरकारको ९.९, इन्टरकास्ट नेपालको ६, युनाइटेड मिसन टु नेपालको २.७९, कर्मचारीको २ र विद्युत् प्राधिकरणको एक प्रतिशत सेयर छ ।
    एफपीओ निष्कासन गर्दै
    २ आयोजना बनाउन बीपीसीले ४० लाख कित्ता थप साधारण सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । बीपीसीको साधारणसभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । एफपीओ निष्कासनका लागि आन्तरिक तयारी भइरहेको सीईओ श्रेष्ठले बताए । “धितोपत्र बोर्डले एफपीओको नीतिगत व्यवस्था गरेपछि हामी प्रक्रिया अघि बढाउँछौं,” उनले भने । २ आयोजनाका लागि एफपीओ निष्कासन गर्न लागेको उनले स्पष्ट पारे ।
    स्रोत : १२ खरी