माथिल्लो तामाकोशीको ‘ट्रयाजिडी’

800

२५ पुष, २०७६

काठमाडौं। ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले चौथो संशोधित तालिकामा पनि विद्युत उत्पादन गर्न नसक्ने पक्का भएको छ।

तोकिएको समयमा आयोजना नसकिएपछि लागत दोब्बर पुगिसकेको छ। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ३५ अर्ब थियो। अहिले यो जलविद्युत आयोजनाको लागत ७० अर्ब नाघिसकेको छ। सुरुवातमा प्रति मेगावाट ८ करोड लागत रहेको आयोजनाको १६ करोड पुगेको छ। तर अझै पनि आयोजनाबाट विजुली कहिले उत्पादन सुरु हुन्छ टुंगो छैन।

आयोजनाको पावरहाउस लगायत सबै निर्माण भइसकेको छ। अहिले ठाडो सुरुङमा हाल्ने पेनस्टक पाइप राख्नै हम्मे भएको छ। अहिले आयोजनाको ६८२ मिटर लामो ठाडो सुरुङमा २८२ मिटर मात्रै पेनस्टक पाइप राखिएको छ। अझै ४०० मिटर पाइप राख्नै बाँकी छ।

आयोजनाले दाबी गरेअनुसार आगामी असारभित्र विद्युत उत्पादन गर्न चैतभित्र अर्थात बढीमा सय दिनभित्र आयोजनाका सबै काम सक्नुपर्छ। तर आयोजनामा भइरहेको कामको गति हेर्ने हो भने दुई सय दिनमा समेत पेनस्टक पाइप जडान हुन कठिन हुनेछ। दुई सय  मिटर पाइप जडान गर्न थप सय दिन नलागेपनि ४५ दिनमा पनि सकिने अवस्था छैन।

पुस २२ गतेसम्मको तथ्यांकमा ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा ८७.५ मिटर मात्रै पेनस्टक पाइप जडान भएको छ। ३७२ मिटर लामो तल्लो ठाडो सुरुङमा १९० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ। माथिल्लो ठाडो सुरुङमा एउटा पाइप झार्ने काम अन्तिम चरणमा पुगेकाले यही हप्ताभित्र ९२ मिटर पाइप जडान हुने छ।

कुल ६८२ मिटर पेनस्टक पाइप राख्नु पर्नेमा पुस अन्तिम साता सम्म २९२ मिटर मात्रै पाइप जडान हुनेछ। यो कुल लम्बाइको ४० प्रतिशत मात्रै हो। आयोजनाले दाबी गरे अनुसार असारभित्र एउटा युनिटबाट बिजुली बाल्न पनि चैत सम्ममा ठाडो सुरुङमा पेन स्टक पाइप जडान गरिसक्नुपर्छ। तर अहिलेको कामको गतिले असार सम्ममा पाइप जडानको काम मात्रै सकिने देखिन्छ।

अहिलेसम्म आयोजनाले असारमै विद्युत उत्पादन गर्नेगरि नियमित कार्य तालिकामा काम गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बिजमाण्डूलाई बताए। ‘कुनै प्राविधिक कठिनाइ आएन भने असारमा विद्युत उत्पादन हुन्छ,’ उनले भने, ‘विद्युत उत्पादन हुनेमा सकारात्मक सोचौं।’

कम्पनी मोडेलमा जनताको लगानीसहित निर्माण भइरहेको आयोजना समयमै आएको भए नेपालकै आकर्षक जलविद्युत आयोजना हुने थियो। भूकम्प र नाकाबन्दीका कारण केही समयपछि परेपनि २०७३/७४ भित्र आयोजना सम्पन्न भइसक्नुपर्थ्यो।

 

Source: The Bizmandu Post

२०७४ मंसिरमा आयोजनाको सुरुङमार्गको ब्रेक थ्रु भएपछि २०७५ पुस सम्ममा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य थियो। आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेका छन् ।