काठमाडौंः नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।
सन् २०४५ सम्ममा नेपालले भारतसँग द्रुत विद्युत् व्यापार गर्नसके १० खर्ब ६९ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नसक्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकी सहयोग नियोग (यूएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी÷ईआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च एण्ड एक्सन फर डेलभमेन्ट (इराडे) ले तयार पारेको नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने अर्थिक लाभसम्बन्धि विश्लेषणात्मक प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।
नेपालले हाल भारतबाट दैनिक ३ सय ५२ मेगावाट आयात गरिरहेको छ भने आयातीत बिजुलीका लागि बर्सेनि २० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिरहेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेलगायत अमेरिकी र भारतीय राजदूतावासका उच्च अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा रहेको जलविद्युत् उत्पादनको क्षमतालाई उपयोग गर्न सके मुलुकको जीडीपी १ सय ३१ खर्ब रुपैयाँ पुग्ने उल्लेख छ ।
हाल नेपालको जीडीपी २२ खर्ब ४८ अर्ब रुपैयाँ छ । इराडेका सभापति डा. किरित पारिखले विद्युत् निर्यातबाट नेपालले सन् २०२५ सम्ममा ४४ अर्ब, २०३० सम्ममा ३ खर्ब १० अर्ब, २०३५ सम्ममा ५ खर्ब ६५ अर्ब र २०४० सम्ममा ८ खर्ब ४० अर्ब रुपैयाँ आम्दानी गर्नसक्ने अध्ययनले देखाएको जानकारी दिए ।
प्रतिवेदनअनुसार, २०२५ सम्ममा १८ बिलियन किलोवाट आवर, २०३० सम्ममा ९३ बिलियन किलोवाट आवर र २०४० सम्ममा १ सय १५ टेरावाट आवर विद्युत् निर्यात हुनेछ । २०४५ सम्ममा मुलुकको विद्युत् उत्पादन क्षमता ३४.४ गिगावाट पुग्ने प्रक्षेपण प्रतिवेदनमा गरिएको छ ।
हाल नेपालको विद्युत् उत्पादन क्षमता ०.८७ गिगावाट अर्थात ८ सय ७० मेगावाटको हाराहारीमा भए पनि २०२० सम्ममा १.८ गिगावाट, २०२५ सम्ममा १०.६ गिगावाट, २०३० सम्ममा १८.९ गिगावाट, २०३५ सम्ममा २४.४ गिगावाट र २०४० सम्ममा २९.४ गिगावाट पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
–प्रतिव्यक्ति माग १५०० किलोवाट आवर
–नेपालको उत्पादन क्षमता ३४.४ गिगावाट
–जलविद्युत्मा आवश्यक लगानी ४८१२ अर्ब
प्रतिवेदनमा २०३० र २०४५ सम्ममा जलविद्युत् उत्पादनका लागि क्रमशः २५ खर्ब ९६ अर्ब रुपैयाँ र ४८ खर्ब १२ अर्ब लगानी आवश्यक पर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा दुई देशबीचको व्यापारले नेपालको प्रतिव्यक्ति विद्युत् मागमा वृद्धि भएर २०४५ सम्ममा १५ सय किलोवाट आवर पुग्ने उल्लेख छ ।
प्रतिवेदन अनुसार २०२० मा २५१, २०२५ मा ४७६, २०३० मा ७३६, २०३५ मा ७९६ र २०४० सम्ममा ९३४ किलोवाट आवर प्रतिव्यक्ति विद्युत् माग पुग्नेछ । विद्युत्को प्रतिव्यक्ति माग बढ्दा नेपालीको जीवनस्तरमा सुधार आउने र यसले मानव विकास सूचांकमा समेत सकारात्मक असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले अन्तरदेशीय विद्युत् व्यापारले नेपालको आर्थिक रुपान्तरण हुने देखाएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रम आयोग सदस्य डा. वाग्लेले प्रतिवेदनले नेपालको अर्थतन्त्रको दीगो विकासका लागि ऊर्जा क्षेत्रको कसरी प्रवद्र्धन गर्ने भन्नेका लागि बाटो देखाउनसक्ने बताए ।
यसले मुलुकको औद्योगिकीकरणमा पनि सहयोग पुग्ने उनको भनाई छ । उनले विद्युत् व्यापारबाट नेपालसँगै दक्षिण एशियाका अन्य राष्ट्रहरूलाई समेत फाइदा पुग्ने धारणा राखे ।
स्रोत:कारोबर दैनिक