१३ वर्षपछि नेपालले १३ हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने

    1922

    नेपालले सन् २०४५ सम्म बिजुली बेचेर प्रतिवर्ष १० खर्ब ६९ अर्ब रुपैयाँ कमाउने एक अध्ययनले देखाएको छ

    नयाँ पत्रिका

    काठमाडौं, ७ माघ

    सन् २०३० सम्ममा नेपालले बर्खायामको साँझमा १३ हजार मेगावाट बिजुली भारत निर्यात गर्न सक्ने एक अध्ययनले देखाएको छ । बर्खायामको साँझमा भारतमा बिजुलीको बढी माग हुन्छ । अध्ययनले बर्खाको तुलनामा हिउँदमा भने बिजुली निर्यात घट्ने देखाएको छ । अहिले नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ । सन् २०२५ पछि नेपालले निर्यात सुरु गर्न सक्ने अध्ययनले देखाएको छ ।

    अमेरिकी सहयोग नियोग (युएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी÷इआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च एन्ड एक्सन फर डेभलपमेन्ट (इराडे)ले यो अध्ययन गरेको हो ।

    अध्ययनका अनुसार सन् २०४५ सम्ममा नेपालबाट भारतमा बिजुली निर्यात दोब्बर हुनेछ । भारतमा बिजुली बिक्री गरी नेपालले सन् २०३० मा ३ खर्ब १० अर्ब रुपैयाँ कमाउनेछ ।

    सन् २०४५ मा यो कमाइ बढेर १० खर्ब ६९ अर्ब रुपैयाँ पुग्ने अध्ययनले देखाएको छ । यो कमाइ नेपालको कुल गार्हस्थ उत्पादनको ५–६ प्रतिशत हुनेछ । सन् २०३०–२०४५ मा बिजुलीको सीमान्त प्रतियुनिट मूल्य ४ रुपैयाँ ७९ पैसादेखि ९ रुपैयाँ ३१ पैसासम्म हुने अनुमान गरिएको छ ।

    नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । अध्ययनमा दुई मुलुकबीचको अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना र त्यसले व्यापारमा पार्ने असरबारे विश्लेषण गरिएको छ ।

    नेपाल र भारतबीचको बढ्दो ऊर्जा व्यापारले गर्दा सन् ०४५ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन १ सय ३१ खर्ब रुपैयाँ पुग्ने इराडेका सभापति डा. किरित पारिखले बताए ।

    यो हालको जिडिपीभन्दा ६ गुना बढी हो । दुई मुलुकबीचको बिजुलीको व्यापारले नेपालको प्रतिव्यक्ति विद्युत् खपतमा पनि वृद्धि हुने उनले बताए । नेपालको प्रतिव्यक्ति विद्युत् खपत सन् २०१२ मा १ सय ३९ युनिट रहेकोमा र ०४५ मा १ हजार ५ सय युनिट प्रतिवर्ष पुग्ने अनुमान गरिएको छ । यसरी विद्युत्को प्रतिव्यक्ति खपत बढ्नेबित्तिकै मानिसको जीवनस्तरमा पनि सुधार आउने र यसले मानव विकास सूचकांकमा पनि सकारात्मक असर पर्दछ । एसिया विश्वमा तीव्र गतिमा आर्थिक उन्नति गरिरहेको क्षेत्र भए पनि यहाँ विश्वासिलो ऊर्जा पूर्वाधारको कमी रहेको अमेरिकी निमित्त राजदूत माइकल गोन्जालेसले बताए ।

    भारतले कोइलाबाट उत्पादन हुने विद्युत्को सट्टा नेपालबाट निर्यात हुने जलविद्युत् प्रयोग गरी आफ्नो कार्बन उत्सर्जनमा कमी गर्न सक्ने उनको धारणा थियो । भारत दक्षिण एसियामा अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रतिबद्ध रहेको भारतीय दूतावासका द्वितीय सचिव माला नरेन्द्रले बताइन् ।

    स्रोत: नयाँपत्रीका