प्रसारण लाइनको क्षमता नहुँदा बिजुली खेर

    282

    काठमाडौं- जलविद्युत आयोजनाबाट बिजुली उत्पादन भए पनि प्रसारण लाइनको क्षमता वृद्धि नहुँदा उत्पादित बिजुली खेर जाने भएको छ। अहिले भइरहेका प्रसारण लाइनले धान्नेभन्दा बढी बिजुली उत्पादन हुन थालेपछि लाखौं मूल्यको बिजुली उपभोग गर्न नसकी खेर जाने भएको हो।

    लोडसेडिङ हटाउन भारतबाट ठूलो परिमाणमा बिजुली आयात गरिएको छ। तर, प्रसारण लाइनको अभावमा स्वदेशमै उपलब्ध विद्युत उपभोग गर्न सकिएको छैन। जसका कारण काठमाडौं, पोखरा र वीरगन्जबाहेक मुलुकका अन्य भागमा लोडसेडिङ जारी छ।

    प्रसारण लाइनको क्षमता नबढाएका कारण ठूलो परिमाणमा जलविद्युत आयोजनाबाट उत्पादित  बिजुली खेर गइरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का पूर्वअध्यक्ष सुवर्णदास श्रेष्ठले सोमबार नागरिकलाई बताए। ‘प्रसारण लाइनको क्षमता नबढाएकै कारण आयोजनाबाट उत्पादित बिजुली खेर गएको छ,’ उनले भने, ‘प्रसारण लाइन नहुँदा केही जलविद्युत आयोजनाको बिजुली खेर गएको हो।’

    प्रसारण लाइन नभएको भन्दा पनि प्रसारण लाइनको क्षमता वृद्धि नगरेका कारण ठूलो मात्रामा बिजुली खेर गइरहेको हो। सरकारले प्रसारण लाइनको क्षमता वृद्धिमा ध्यान नदिएको सरोकारवालाको भनाइ छ।

    बर्खामा नदीमा पानीको प्रवाह बढेपछि सबै आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्छन्। त्यसबेला अहिले (हिउँद)मा भन्दा बढी बिजुली खेर जाने उनीहरु बताउँछन्।

    हिउँदमा भन्दा बर्खामा बढी बिजुली खेर जाने सम्भवना भएको इपानका सल्लाहकार विश्वनाथ कँडेलले बताए। ‘प्रसारण लाइनको क्षमता वृद्धि नगर्ने हो भने बर्खामा विकराल समस्या हुनेछ,’ उनले भने, ‘हिउँदमा खोलामा पानी कम भएकाले कम बिजुली उत्पादन भएका कारण समस्या त्यति विकराल नभएको हो।’

    ललितपुरको खानीखोला जलविद्युत आयोजनाबाट उत्पादित ६.४ मेगावाट बिजुली पनि प्रसारण लाइनको क्षमता नभएका कारण खेर गइरहेको प्रवर्द्धकहरु बताउँछन्। ११ केभीको प्रसारण लाइन ३३ केभीको नबनाएसम्म समस्या हुने उनीहरुको भनाइ छ।

    टुंगुनखोलाबाट उत्पादित २.४ र ठोस्नेको ४ मेगावाटमध्ये १.४ मेगावाट मात्र प्रयोगमा आएको आयोजना प्रमुख भरत थापाले जानकारी दिए। प्रयोगमा आएको १.४ मेगावाट बिजुली ११ केभी फिडर लगनखेल प्रसारण लाइनमा जोडिएको छ।

    १४ मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली वर्षायाममा खेर जाने छ। गत वर्ष उक्त आयोजनाले ३–४ मेगावाट मात्र बिजुली उत्पादन गरेको थियो। त्यसभन्दा बढी बिजुली उत्पादन गर्दा खेर जाने भएपछि बिजुली कटौती गर्नुपरेको थियो। १० मेगावाटको सिप्रिङ खोलाको पनि त्यही हालत छ।

    विद्युत थपिए पनि प्रासारण लाइनको क्षमता नबढाएका कारण बिजुली खेर गएको हो। जलविद्युत आयोजना निर्माण भएसँगै प्रसारण लाइनको क्षमता नहुँदा प्राधिकरणले विद्युत गुमाइरहेको छ।

    हिउँदमा भन्दा बर्खामा बढी बिजुली खेर गइरहेको छ। आगामी वर्ष पनि प्रसारण लाइनको क्षमता नबढाए अझै ठूलो मात्रामा बिजुली खेर जाने अनुमान गरिएको छ।

    बर्खामा साना तथा मध्यमस्तरका आयोजनाबाट उत्पादन हुने करिब ५०  मेगावाट भन्दा धेरै विद्युत खेर जाने अनुमान प्राधिकरणको छ । बर्खा लागेसँगै नदीमा पानीको प्रवाह बढ्ने हुँदा सबै आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दछन्। तर, त्यस्तो बिजुली प्रसारण लाइनको अभावमा उपभोक्ताले प्रयोग नगरी खेर जान्छ।

    नेपाल विद्युत प्राधिकरणले प्राविधिक तथा अप्रविधिक तरिकाले हुने विद्युत चुहावटबाट बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। प्रसारण लाइनको क्षमता नबढाए अझै ठूलो नोक्सानी उसले बेहोर्नु पर्ने हुन्छ।

    प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ।

    प्राधिकरणका अनुसार, करिब २ सय ४० मेगावाट विद्युत चुहावट भएर सकिने गरेको छ। उत्पादन भएको बिजुलीसमेत प्रयोगमा ल्याउन नसक्दा एकातिर प्राधिकरणलाई नोक्सानी हुुन्छ भने अर्कोतिर   उपभोक्ताले लोडसेडिङ सामना गर्नुपर्ने हुन्छ। ‘प्रसारण लाइनको क्षमता नबढाउने हो भने प्राधिकरणलाई नै नोक्सानी हुने हो,’ कँडेलले भने, ‘प्रवर्द्धकले त प्राधिकरणसँग गरेको सम्झौता अनुसार आयोजनाबाट उत्पादित बिजुलीको मूल्य पाउँछन्।’

    प्राधिकरणले नै निर्माण गरेको हालसम्मकै ठूलो १३२ केभीको प्रसारण लाइनले ९० मेगावाटभन्दा धेरै बिजुली प्रवाह गर्न सक्दैन। धेरै क्षमताको प्रसारण लाइन विस्तार गर्न पनि जलविद्युत अयोजना निर्माणमा जस्तै तीव्रता दिनुपर्ने निजी जलविद्युत प्रवर्द्धकले बताउँदै आएका छन्।

    प्राधिकरणले पिपिए सम्पन्न गरेका सन् २०१८ सम्ममा निर्माण सम्पन्न हुने आयोजनाबाट बिजुली उत्पादन भयो भने पनि प्रसारण लाइनको अभावमा आधाभन्दा धेरै खेर जाने निश्चित छ।

    प्राधिकरणले भइरहेका प्रसारण लाइनको क्षमता वृद्धि गरेको छैन् भने विभिन्न करिडोर नाम दिएर निर्माण योजना बनाएको भए पनि कुनै पनि प्रसारण लाइन समयमै पूरा हुने लक्षण छैन। यस वर्ष निर्माण सम्पन्न भई प्रयोगमा आउनुपर्ने प्रसारण लाइन पनि बन्न सकेका छैनन्।

    वन मन्त्रालयले रुख काट्न अवरोध गरेका कारण, स्थानीय बासिन्दा, राजनीतिक पार्टी र विभिन्न समूह र संस्थाले गर्ने अवरोधका कारण पनि प्रसारण लाइन तय गरिएको समयभित्र बन्न सकेका छैनन्।

    स्रोत:नागरिक समाचार