मंसिर १८, २०७४-कुनै उम्मेदवारले मलाई भोट दिएर जिताउनुहोला, मैले तपाईको घर नजिकैको नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्छु भन्यो भने दमारबेंसीका टानबहादुर पुलामीलाई विश्वास लाग्दैन । किनकि यो आयोजना जहिल्यै आश्वासनमा सीमित हुँदै आएको छ ।
घर पल्तिर राप्ती नदी छ, त्यहाँ २ सय ४५ मेगावाट विद्युत् निकल्न सकिने नौमुरे जलविद्युत् आयोजना अलपत्र रहेको ३० वर्ष पुग्यो,’ उनले भने, ‘जितेर केही मन्त्रीसमेत भए । आयोजना सुरु हुने ठेगान छैन ।’ २०४४ सालमा तत्कालीन सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्यूठानसँग सीमा जोडिएको अर्घाखाँची प्रदेश ‘ख’ जलुकेमा रहेको नौमुरेमा तीन वर्षसम्म डयाम निर्माणलगायतका काम भए । त्यसपछि ठप्पै छ । त्यतिबेला खनिएका खाडल पुरिएका छन् ।
‘पञ्चायतदेखि अहिलेसम्मका चुनावमा नौमुरेको कुरा सधैं उठिरहन्छ,’ उनले भने, ‘अहिले त पत्यारै लाग्न छाड्यो ।’ भोट माग्न कांग्रेस र वाम गठबन्धनका उम्मेदवार गाउँ पुग्छन् । नौमुरे नजिकै बसोबास गर्ने गाउँलेलाई जलविद्युत्को चासो बढी छ । भोट माग्न जहाँ गए पनि उम्मेदवारले गाउँलेसँग आफ्ना कुरा राख्छन् । चुनावी मेलाको हतारोमा रहेका दुवैथरीका उम्मेदवारले स्थानीयका कुरा सुन्न भ्याउँदैनन् । ‘विकास अरू पनि गर्छौं । भोट दिनुस्, जितेपछि पहिलो प्राथमिकता नौमुरेलाई दिन्छौं भनेर गइहाल्छन्,’ लामातालकी सुन्दरा गाहाले भनिन् ।
पाँच वर्षसम्म डयामको काम गरेका तत्कालीन विद्युत् उपभोक्ता समितिका सदस्य जुनबहादुर पुलामीले नेताले सधैं झुलाउने काम गरेको बताए । ‘पञ्चायत सरकारले सुरु गरेको थियो,’ उनले भने, ‘प्रजातन्त्र आएपछि काम रोकियो । सरकारले चासो दिएन ।’ उनले २०४४ सालदेखि ०४८ सालसम्म डयामका लागि खाडल खन्ने काम गरेका थिए । तीन वर्षसम्म बाँध बनाउन सयांै स्थानीयले जनश्रमदान गरेका थिए । विद्युत् निकाल्न बाँधिएको बाँध र खाडल अहिले पुरिएका छन् । जिल्लास्थित सर्वदलीय टोली पनि प्रधानमन्त्री फेरिनासाथ प्रतिनिधिमण्डल गइरहन्छन् ।
जिल्लाकै नेता टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री भए । २०७२/०७३ को बजेट भाषणमा नौमुरे जलविद्युत्को काम सुचारु गर्ने भनिएको थियो । जिल्लावासी हर्षित थिए । अहिलेसम्म सुरुवात नै भएको छैन । मन्त्री भएको बेला असुरकोटको कार्यक्रममा रायमाझीले मन्त्रालयका फाइल पेस भएको छ ।
सर्वसाधारणको सेयरबाट नौमुरे सुचारु गर्ने हो । ‘सेयर राख्न पैसा जम्मा गरेर राख्नुहोला, सूचना निकाल्ने तयारीमा मन्त्रालय छ’ भन्ने भाषण सुनेपछि असुरकोटकी ६० वर्षीय तिलमाया खत्रीले नाक, कान र घाँटीका तीन तोला गहना बेचेर सिनारीमा पैसा राखिन् । ‘छोरानातिको भविष्य बन्ला भनेर गहाना बेचें, कुनै दिन खबर पाइएला कि भन्ने आशामा बसेको धेरै भयो,’ उनले भनिन्, ‘नेता र मन्त्री बोल्ने मात्र रहेछन् । काम गर्दा रहेनछन् ।’
स्थानीय कृष्णप्रसाद पन्थीका अनुसार ३ सय जनशक्तिले तीन वर्ष काम गरे । नौमुरे सञ्चालन भएमा देशमा लोडसेडिङको भार केही कम हुने उनले बताए । ५० मिटरको डयामको रेखांकन अहिले हराएको उनले बताए । ‘बजेट भाषणमै सम्बोधन भएपछि छिट्टै काम होला भन्ने थियो,’ समितिका अध्यक्ष पीताम्बर सारूले भन भने, ‘भाषणमै सीमित भयो ।’ नौमुरे सञ्चालन गर्दा स्थानीयले पर्याप्त लाभ उठाउने गरी सरकारले नीति बनाउनुपर्ने उनको सुझाव छ । पहिलो संविधानसभामा चुनाव जितेकी कांग्रेस नेतृ पुष्पा भुसाल र दोस्रोमा जितेका एमालेका दुमन थापाले पनि उम्मेदवार भएर मत माग्न जोडतोडका साथ नौमुरेको कुरा उठाएका थिए ।
माओवादी नेता रायमाझीले दुवै संविधानसभा चुनाव जिते । त्यतिबेला पनि नौमुरे सञ्चालन गर्ने नारा थियो । अहिले वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । अहिले चुनावी मुद्दा नौमुरे पनि छ । उनले वाम गठबन्धनको सरकार बन्ने र आफू फेरि पनि मन्त्री बनेपछि नौमुरे सञ्चालन गर्नेछु भन्दै मतदातालाई आश्वासन दिएका छन् । ‘नौमुरे सञ्चालन गर्न मन्त्रालयमा फाइल तयार छ,’ उनले भने, ‘सरकार बनेपछि पहल हुन्छ । जनताको सेयरबाट सञ्चालन गरिन्छ ।’
कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार रामबहादुर बीसीले आफनो प्रतिबद्धता पत्रमा नौमुरे जलविद्युत् आयोजनामार्फत सम्पूर्ण जिल्लाबासीलाई धनी बनाउने मोडलमा सञ्चालन गर्ने उल्लेख गरेका छन् । ‘चुनाव जितेपछि मेरो पहिलो काम नौमुरे सञ्चालन गर्ने हुन्छ,’ बीसीले भने, ‘मतदातासँग म बोलेको छु । जिल्लाबासीको सहभागिता र सेयरबाटै सञ्चालन हुन्छ । जितेपछि काम गरेरै छाडछु ।’
नौमुरे सञ्चालन गरेपछि सेयरबाट जिल्लाबासी धनी हुने र लोडसेडिङको भार कम हुने उनले बताए । वाम गठबन्धनका एमालेबाट प्रदेश सदस्य उम्मेदवार रामजीप्रसाद घिमिरे र कांग्रेसका हिम्मतबहादुर टण्डनले मत तान्ने नौमुरेलाई जोडबलका साथ उठाएका छन् । जिल्लावासीलाई एक व्यक्ति एक सेयर बनाएर काम सुरु गर्ने घिमिरेले बताए । प्रदेश ‘क’ का उम्मेदवारले पनि नौमुरेको कुरा उठान गरेका छन् ।
स्रोत:कान्तिपुर