माथिल्लो तामाकोसीको ८८ प्रतिशत निर्माण सम्पन्न

    1252

    चरिकोट, जेठ २९ गते ।  दोलखाको बिगू गाउँपालिका–१ को गोँगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८८ प्रतिशत सम्पन्न भएको छ ।

    स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजनाको काम २०७५ सालको असारभित्र सम्पन्न गरी पहिलो चरणमा विद्युत् प्रसारण गर्ने तयारीमा रहेको आयोजनाले जनाएको छ  ।  गतका भूकम्प र नाकाबन्दीको कारण  दुई वर्ष ढिलाइ भएको सो आयोजनाको काम हाल तीव्र गतिमा अघि बढिरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनु भयो ।

    उहाँका अनुसार आयोजना निर्माणको लागि लट २ को हाइड्रोमेकानिकल र लट ३ को इलेक्ट्रोमेकानिकलको सामान धमाधम ल्याउने काम भइरहेको छ ।  वर्षात् अघि नै सामानहरू आयोजना स्थलमा पुगिसक्ने छन् ।  उहाँले केही समय अघि सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्म ल्याउन केही समस्या भएको बताउँदै हाल त्यो समस्याको समाधान भइसकेको बताउनुभयो  ।  उहाँले हालसम्म हेडवक्र्स कङ्क्रिट कार्य ८६.५५ प्रतिशत, मुख्य सुरुङ खन्ने कार्य ८५.८५ प्रतिशत, टेलरेस सुरुङ खन्ने कार्य, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३५ प्रतिशत, विद्युत् गृह र ट्रान्सफर्मर क्याभर्न खन्ने कार्यसमेत तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

    केइसी इनटरनेसनलले ठेक्का पाएको लट ४ को गोँगर–खिम्ती ४७ किलो मिटर दूरीको २२० केभी प्रसारण लाइनको काम पनि तीव्र गतिमा भइरहेको छ ।  उहाँले भन्नुभयो, १२७ वटा टावरमध्ये ११६ वटा जग राख्ने काम भइसकेको छ ।  ९४ वटा टावर खडा भएका छन् ।  साँढे चार किलोमिटर तार तान्ने काम भइसकेको उहाँले बताउनुभयो ।

    हाइड्रोमेकानिक कार्य २०७२ वैशाखमा मेकानिकल तथा इलेक्ट्रिकल काम २०७२ चैतमा र प्रसारण लाइनको कार्य २०७२ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।  भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा लगानी बढेको छ ।  आयोजनाको हालसम्म ३३ अर्ब ३२ करोड रुपियाँ लगानी भइसकेको सो आयोजनाको विनियोजित बजेट ३५ अर्ब २९ करोड रुपियाँ थियो भने प्रक्षेपित लागत ४१ अर्ब ७२ करोड रुपियाँ रहेको छ ।

    यसैबीच आयोजनाले स्थानीय तहको निर्वाचन सकिएसँगै स्थानीयलाई सेयर जारी गर्ने तयारी गरिरहेको छ ।   आयोजनाका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनले केही समय ढिलाइ भएको बताउँदै अबको केही महिनाभित्रै स्थानीयले सेयर पाउने बताउनुभयो ।

    आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्नेछ ।  यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर जारी भइसकेको छ ।

    स्रोत:गोर्खापत्र