३७.६ मेगावाटको काबेली ‘ए’ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

    2485

    काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । ३७.६ मेगावाट क्षमताको झिझ्याङ, टीडब्लू र सीडब्लू नामक चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढाउन सकेको थिएन ।

    दसैँ लगत्तै चिनियाँ कम्पनीले निर्माणको काम सुरु गर्नेछन् । आयोजना प्रमुख श्रेष्ठका अनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ । कुल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकलतर्फको काम सुरु हुनेछ ।

    काबेली पाँचथर र ताप्लेजुङको सीमाक्षेत्रमा बग्ने नदी हो । यसअघि कम्पनीले स्थानीयसँगको सम्झौताविपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए ।

    हाल आयोजना निर्माणका लागि पूर्वाधार विकासतर्फको काम भइरहेको छ । आयोजना प्रभावित क्षेत्रहरू पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसमा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    अमरपुरको वडा नं. २ र ५ को खोलाखर्कमा पोखरी बनाइ साढे चार किलोमिटर सुरुङमार्गद्वारा सो पानी अमरपुर ९ पिनासी घाटको पावर हाउसमा खसाउने गरी पूर्वाधार निर्माणको काम भएको हो । यस्तै, स्थानीयसँगको सम्झौताबमोजिम नौ मिटर चौडाइ भएको सडक निर्माण गरिएको छ ।

    स्थानीयहरूसँग भएको सम्झौताबमोजिम काम अघि बढाइएकाले अब भने अवरोध नहुने कम्पनीले जनाएको छ । “विवादका कारण यसअघिको कम्पनीले आयोजनाको काम गर्न सकेन,” श्रेष्ठले भने, “अहिले विवादित विषय मिलाएर काम सुरु गरिएको छ, आयोजनाको काम निर्धारित समयमै सम्पन्न हुन्छ ।”

    चार वर्षभित्रमा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य साथ काम थालिएको हो । “सन् २०२० सम्ममा आयोजनाले पूर्णता पाउनेछ,” श्रेष्ठले भने, “कात्तिक महिनादेखि हाइड्रो निर्माणको काम तीव्र गतिमा अघि बढ्नेछ ।”

    स्रोत : नयाँ पेज