![](https://i0.wp.com/www.nepalenergyforum.com/wp-content/uploads/2018/09/Galachhi-Kerung-Transmission-Line-.jpg?resize=696%2C422)
रसुवा – चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाका अनुसार अहिले प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको एक्काभेसनको काम सकिएको छ।
१५ वटा टावर राख्ने स्थानमा सडक पहुँच नपुगेका कारण निर्माण सामग्री लैजान कठिनाइ भएको आयोजनाले जनाएको छ। सडक नपुगेका कारण फाउन्डेसन निर्माण गर्ने काम मानिसले गर्दा निर्माणमा ढिलाइ हुन पुगेको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताए। ‘यस क्षेत्रमा फाउन्डेसन निर्माणमा धेरै समय लाग्यो,’ उनले भने, अन्य क्षेत्रमा स्काभेटर तथा डोजरको प्रयोग गर्छौं।’
सडक पहुँच नपुगेको स्थानमा हेलिकप्टर वा रोपवेको माध्यमबाट सामग्री लैजाने उनको भनाइ छ। आयोजनाले जग्गा अधिग्रहण गर्ने काम तथा मुआब्जा वितरण गर्ने काम सकिएको जनाएको छ। आयोजनाको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ।
सन् २०१७ डिसेम्बर २० देखि प्रसारणलाइन निर्माण सुरु भएको आयोजनाको सन् २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो। सम्झौताअनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ। थपिएको समय सीमाअनुसार सन् २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ।
भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेका कारण निर्माणमा ढिलाइ भएको उनले बताए। आयोजना निर्माण चिनियाँ ठेकेदार पिङ्गाओ ग्रुप लिमिटेडले गरिरहेको छ। रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन निर्माण गरिएको हो। प्रसारण लाइन निर्माणका लागि सन् २०१७ नोभेम्बर १३ मा ठेक्का सम्झौता भएको थियो।
रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री बी हबसम्म प्रसारण लाइन निर्माण हुने छ। प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको छ।
गोल्जुङदेखि मैलुङसम्म २२० केभि डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्री बीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ। गोल्जुङदेखि थ्री बी हबसम्म ७८ टावर रहने बताइएको छ। टावर राख्ने जग्गाको मुआब्जा दिइने छ भने प्रसारण लाइनको तारमुनि पर्ने अन्य जग्गाको जग्गाध नीलाई क्षतिपूर्तिबापत १० प्रतिशतदेखि २० प्रतिशतसम्म रकम प्रदान गरिने छ।
‘तारमुनि पर्ने जग्गामा खेतीपाती लगाउन मिल्छ,’ आयोजना प्रमुख शाहले भने, ‘तारलाई छुने अग्लो हुने बिरुवा रोप्न पाइँदैन।’ प्रसारण लाइन र सब–स्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ। प्रसारण लाइन निर्माणपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत्को बिजुली जोडिने छ।
सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने, जग्गासट्टा, रुख कटानका लागि समयमै अनुमति नपाउनु लगायत कारणले ढिलाइ भएको हो। सबस्टेसनको काम चार महिनामा सकाइसक्नुपर्ने छ। सबस्टेसन निर्माणतर्फ रिटेनिङ वाल तथा बाउन्डरी वाल लगाउने काम सकिएको छ भने कन्ट्रोल बिल्डिङ र ट्रान्सफर्मरको फाउन्डेसनको काम दसैंअघि नै सुरु गर्ने आयोजनाको तयारी छ।
यो प्रसारण लाइनमा २१६ मेगावाटको माथिल्लो त्रिशूली एक, १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ४२.५ मेगावाटको सान्जेन, २० मेगावाटको लाङटाङखोला, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। यो प्रसारण लाइनमा पाँच सय मेगावट विद्युत् जडान गर्न सकिने छ।
स्रोत : नागरिक