५० वटा चार्जिङ स्टेसनको टेन्डर १५ दिनभित्रै

1574

२० कार्तिक, २०७६

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले देशभर ५० स्थानमा विद्युतीय चार्जिङ स्टेसनका लागि बोलपत्र आह्वान गर्ने भएको छ। प्राधिकरणले १५ दिनभित्र चार्जिङ स्टेसन सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गर्न लागेको हो।

ऊर्जा दक्षता एवं चुहावट नियन्त्रण विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले प्राधिकरणले बोलपत्र आह्वान गर्नका लागि सम्पूर्ण कागजात तयार पारिसकेको १० देखि १५ दिनभित्र चार्जिङ स्टेसन सञ्चालनका लागि बोलपत्र आह्वान गर्न लागेको जानकारी दिए।

‘चार्जिङ स्टेसन सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तयार भइसक्यो,’ उनले भने, ‘सम्भवत् १० देखि १५ दिनभित्र चार्जिङ स्टेसन सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गर्नेछौं।’ उनका अनुसार देशभर ५० वटा विद्युतीय चार्जिङ स्टेसन निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ।

‘अहिलेसम्म ४५ वटा कम्पनी विद्युतीय चार्जिङ स्टेसन बनाउन इच्छुक देखिएका छन्,’ उनले भने, ‘अब टेन्डर प्रक्रियाबाट नै छनोट प्रक्रिया अघि बढाइनेछ।’ प्राधिकरणले सबै प्रकारका विद्युतीय सवारी साधनलाई सार्वजनिक ‘डिसी बुस्ट चार्जिङ’ मार्फत दु्रत गतिमा चार्ज गर्ने संरचना निर्माणका लागि चार्जिङ स्टेसनको खोजी गरिरहेको छ।

सरोकारवाला निकायले पर्याप्त जग्गा उपलब्ध गराएको खण्डमा प्राधिकरणले सम्पूर्ण खर्च गरेर चार्जिङ स्टेसन निर्माण गरिदिने जनाएको छ। तर, चार्जिङ स्टेसनका लागि तीनवटा चार्जिङ प्वाइन्ट र कम्तीमा ५० वटा गाडी पार्किङ गर्न पुग्ने ठाउँ चाहिनेछ।

‘चार्जिङ स्टेसन खोल्न व्यापारिक भवन, सुपर मार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकायलगायत क्षेत्रमा चार्जिङ स्टेसन खोल्ने योजना बनाएका छौं,’ उनले भने, ‘सरोकारवाला निकायले पर्याप्त जग्गा उपलब्ध गराएको खण्डमा प्राधिकरणले सम्पूर्ण खर्च गरेर चार्जिङ स्टेसन निर्माण गरिदिनेछ।’

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनका लागि तीनवटा चार्जिङ प्वाइन्ट र कम्तीमा ५० वटा गाडी पार्किङ गर्न पुग्ने ठाउँ चाहिनेछ। नेपालमा उपलब्ध हुने सबै खालका विद्युतीय सवारी साधन चार्जिङ गर्न मिल्ने खालको स्टेसन निर्माण गर्न लागिएको हो।

‘नेपालमा तीन खालका विद्युतीय सवारीसाधन छन् । ती सबैलाई मिल्ने खालको चार्जिङ स्टेसन खोल्न लागेका हौं,’ विभागका सहायक प्रबन्धक ज्ञवालीले भने, ‘दु्रत गतिको चार्जिङ स्टेसन खोल्न लागेका हौं। जसमा एकै घन्टामा विद्युतीय गाडी फुल चार्ज गर्न सकिनेछ।’ उनका अनुसार च्याडेमो, सिसिएस, जिबिटी पोर्ट भएका विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने खालको चार्जिङ स्टेसन खोल्न लागिएको हो।

अहिले विद्युतीय सवारीसाधन उपभोक्ताले आफ्नै घरमा एसी प्रविधिमा आधारित चार्जिङ गर्दै आएका छन्। जसमा चार्जिङ गर्न तीनदेखि पाँच घन्टा समय लाग्छ।  चार्जिङ स्टेसनका लागि एकैपटकमा तीनवटा सवारीसाधन चार्जिङ गर्न मिल्ने खालको पूर्वाधार र सवारी पार्किङको आवश्यक स्थान उपलब्ध हुनुपर्नेछ। चार्जिङ स्टेसनका लागि ५०/५० किलोवाटको तीनवटा चार्जिङ गन जडान गर्नुपर्ने हुन्छ। विभागका सहायक प्रबन्धक ज्ञवाली पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय गाडीको इन्धन खर्च धेरै गुणा सस्तो हुने बताउँछन्।

‘विद्युतीय सवारीसाधन प्रतिकिलोमिटर एक रुपैयाँले गुड्छ,’ उनले भने, ‘इन्धनबाट चल्ने सवारीसाधनमा प्रतिकिलोमिटर सात रुपैयाँभन्दा धेरै खर्च लाग्ने देखिन्छ।’ उनका अनुसार विद्युतीय सवारी चलाउँदा प्रतिकिलोमिटर ६ रुपैयाँभन्दा धेरै सस्तो पर्छ।

 

स्रोत: नागरिक दैनिक