काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ मंसिरभरि नबढ्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभागले तयार पारेको ऊर्जाको माग र आपूर्तिको प्रक्षेपणले मंसिरसम्म लोडसेडिङ नबढ्ने अनुमान गरेको हो ।
हाल दैनिक ७ घण्टासम्म लोडसेडिङ भइरहेको छ । विगतका वर्षमा नदीहरूमा जलस्तर घट्दै गएको भन्दै विद्युत् प्राधिकरणले मंसिरको दोस्रो सातादेखि नै लोडसेडिङ बढाउने गरेको थियो ।
मंसिरभरि लोडसेडिङ नबढ्ने प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख विष्णु श्रेष्ठले बताए । “अहिलेसम्मको माग र आपूर्तिको विश्लेषणले मंसिरभरि लोडसेडिङ नबढ्ने देखिएको छ,” उनले भने, “निर्धारित समयमा ढल्केबरमा सबस्टेसनको काम सम्पन्न भएर भारतबाट थप विद्युत् आपूर्ति बढेमा लोडसेडिङ पुसमा पनि बढ्दैन ।” भारतबाट ६ सय मेगावाटसम्म बिजुली आयात भए लोडसेडिङ बढीमा दैनिक ८ घण्टामा सीमित हुने उनले बताए । उनका अनुसार आउँदो हिउँदमा भारतबाट समेत गरी बिजुलीको आपूर्ति ९ सय मेगावाट र र माग १ हजार ६०० मेगावाट हुनेछ । प्रणालीमा ७ सय मेगावाट अपुग हुन गई सुख्खायाममा दैनिक ८ घण्टासम्म लोडसेडिङ हुने उनको भनाइ छ । यद्यपि, भारतबाट आयात हुने बिजुलीको परिमाणका आधारमा पुसको माग र आपूर्तिको अवस्था विश्लेषण गर्न सकिने उनको भनाइ छ । लोडसेडिङ न्यून गर्न हिउँदमा भारतबाट ६ सय मेगावाटसम्म बिजुली आयात गर्ने तयारी प्राधिकरणको छ ।
प्राधिकरणले जनवरीदेखि आयात गर्ने भनिएको थप विद्युत्को भाउ निर्धारण गर्न भारतको एनभीभीएन (विद्युत् व्यापार कम्पनी)लाई पत्राचार गरेको छ । अन्तरदेशीय प्रसारणलाइनअन्तर्गत मुज्जफरपुर–ढल्केबरबाट आयात गरिएको बिजुलीको सम्झौता आउँदो डिसेम्बरदेखि सकिने भएपछि विद्युत् प्राधिकरणले थप विद्युत खरिद–बिक्री दर निर्धारण गर्न पत्राचार गरेको हो । हिउँदमा थप २८० मेगावाट गरी भारतबाट कुल ६ सय मेगावाट बिजुली आयातको तयारी छ । ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीलाई पेश गरेको कार्ययोजनामा लोडसेडिङ बढीमा ७ घण्टामा सीमित गर्न भारतबाट बिजुली आयातको तयारी भएको हो । ढल्केबरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण भइरहेको छ । यो लाइनबाट थप १५० मेगावाट, कटैया–कुसाहबाट थप ५० र परवानीपुर– रक्सौलबाट ५० र टनकपुरबाट थप ४० मेगावाट आयात गर्ने तयारी प्राधिकरणको छ । हाल ढल्केबरमा द्रुत गतिमा सबस्टेसन निर्माणको काम भइरहेको छ । आगामी डिसेम्बरसम्ममा सक्ने लक्ष्य प्राधिकरणको छ । यस्तै कटैया–कुसाह र परवानीपर–रक्सौल प्रसारणलाइन मर्मतको काम पनि डिसेम्बरमा सक्ने लक्ष्य छ । गत वर्ष भारतबाट ३४५ मेगावाटसम्म बिजुली आयात भएको थियो । थप आयात भएपछि भारतबाटमात्र ६ सय मेगावाट बढी विद्युत आयात हुनेछ ।
कुलेखानी भरिएन
वर्षा सकिँदा पनि देशको एकमात्र जलाशय आयोजना कुलेखानी भरिएन । कुलेखानीको जलाशय अझै ८ मिटर भरिन बाँकी छ । ऊर्जाको ब्याकअपको रूपमा कुलेखानीको जलाशय १ हजार ५२१.७२ मिटरमात्र भरिएको श्रेष्ठले जानकारी दिए । असोजको दोस्रो सातासम्म कुलेखानीमा पानीको सतह १ हजार ५२० मिटर थियो । आयोजनाको जलाशय १ हजार ५३० मिटर छ । यो वर्ष १ हजार ५२५ मिटरमात्र भरिने सम्भावना रहेको उनले जानकारी दिए । गत हिउँदमा कुलेखानीको जलाशय घटेर १ हजार ५०३ मिटरमा झरेको थियो । लोडसेडिङलाई नियन्त्रणमा राख्न कुलेखानीको ठूलो भूमिका रहँदै आएको छ । जलाशय नभरिँदा आउँदो हिउँदमा प्राधिकरणलाई माग व्यवस्थापन गर्न समस्या पर्ने देखिएको छ ।
कुलेखानीको जडित क्षमता ९२ मेगावाट हो । तेस्रो आयोजना पनि निर्माण भइरहेकाले जडित क्षमता बढेर १०६ मेगावाट पुग्नेछ । कुलेखानी पहिलो ६०, दोस्रो ३२ र तेस्रो १४ मेगावाट क्षमता छ । तेस्रो आयोजना चालू आर्थिक वर्षमा सम्पन्न हुने लक्ष्य छ । कुलेखानी पहिलोको जडित क्षमता ६० मेगावाट हो । पहिलोबाट २१ करोड १० लाख युनिट बिजुली उत्पादन हुने गरी डिजाइन गरिएको छ । पानीको सतहमा कमी आएपछि विद्युत् गृहबाट ७ करोड १३ लाख ५६ हजार युनिटमात्र बिजुली उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा २०.७९ प्रतिशत विद्युत् उतपादन कम भएको प्राधिकरणले जनाएको । ३२ मेगावाटको कुलेखानी दोस्रोको पनि उत्पादनमा ह्रास आएको छ । दोस्रो गृह १० करोड ४६ लाख युनिट बिजुली उत्पादन हुने गरी डिजाइन गरेकोमा गत वर्ष ४ करोड ४७ लाख ४० हजार युनिटमात्र उत्पादन भएको छ ।
स्रोत : बाह्रखरी