बिजुलीको माग १४ सय ४४ मेगावाट

    1042

    वर्षकै सबैभन्दा बढी विद्युत् खपत हुने लक्ष्मीपूजाको दिन विद्युत् माग १ हजार ४ सय ४४ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्भवतः यो वर्षकै सबैभन्दा उच्च माग हो ।

    प्राधिकरणले गत वर्षको तिहारमा वर्षकै सबैभन्दा बढी १३ सय ८५ मेगावाट पुगेको जनाएको थियो । विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठ लक्ष्मीपूजाको दिन विद्युत्को माग लक्ष्मीपूजाको दिन १ हजार ४ सय ४४ मेगावाट पुगेको र यो वर्षकै सबैभन्दा उच्च माग हुन सक्ने बताउँछन् ।

    “अघिल्लो वर्ष पनि लक्ष्मी पूजाको दिनको बिजुलीको माग नै सबैभन्दा उच्च थियो, यो वर्ष पनि उच्च हुनसक्छ,” उनले भने, “कहिलेकाहीँ सबैभन्दा बढी जाडो हुने अर्थात पुसको दोस्रो साता पनि बिजुलीको माग उच्च हुन सक्ने सम्भावना छ ।”

    लक्ष्मीपूजाको दिन विद्युत्को माग १५ सय मेगावाटको हाराहारीमा पुग्ने अनुमान प्राधिकरणको थियो । प्रतिवर्ष १० प्रतिशतका दरले विद्युत्को माग बढ्ने विज्ञहरूले बताउँदै आए पनि यसपालि भने ५ प्रतिशतभन्दा पनि कम माग बढेको छ ।

    लोडसेडिङ नभएको तथा झिलिमिलीका लागि समेत बिजुली कम खपत गर्ने एलईडी लगायतका चिमहरूको प्रयोगको कारण बिजुलीको माग कम भएको अनुमान प्राधिकरणका अधिकारीहरूको छ ।

    लक्ष्मीपूजाको दिन १ हजार ४ सय ९० मेगावाटदेखि १ हजार ५ सय २० मेगावाटसम्म बिजुलीको माग पुग्न सक्ने अनुमान गरिएकोमा ५९ मेगावाट मात्र बढेकाले आगामी हिउँदमा अहिलेको भन्दा बिजुलीको माग अझ बढ्न सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

    लक्ष्मीपूजाको दिन सबैभन्दा बढी बिजुलीको माग भए पनि यसपालि तिहारमा विद्युत् प्राधिकरणले लोडसेडिङ भने गरेन । प्रमुख श्रेष्ठका अनुसार, कुलेखानी जलाशय सञ्चालन, भारतबाट थप बिजुली तथा बिदामा उद्योग बन्द भएको कारण लोडसेडिङ नगरिएको हो ।

    केही समय अघिसम्म २ सय २० मेगावाटको हाराहारीमा भारतबाट विद्युत् आयात गरेकोमा तिहारमा २ सय ५४ मेगावाटसम्म पु¥याइएको थियो । विद्युत् प्राधिकरणका अनुसार, नेपालको कुल जलविद्युत् उत्पादन क्षमता ८ सय मेगावाट छ ।

    स्रोत: कारोबार