असोजभित्र बागमतीबाट २२ मेगावाट विद्युत्

    1037

    आगामी असोज महिनाभित्र बागमती नदीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ। क्षेत्र क्षेत्रको लगानीमा बागमती नदीमा जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ। २२ मेगावाट क्षमताको जलविद्युत् आयोजना मान्डु हाइड्रोपावर कम्पनीले बागमतीको पानीबाट व्यावसायिक बिजुली उत्पादन गर्न गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ।

    नेपाली प्राविधिक र मजदुरबाटै आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिलवर्कको कार्य भइरहेको छ। नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको हो।

    अहिलेसम्म बागमती नदीबाट व्यावसायिक बिजुली निकाल्ने गरी काम गरिरहेको यो नै पहिलो कम्पनी हो। कम्पनीको लगानीमा बागमती साना जलविद्यत् आयोजनाले बाग्मती नदी, कुलेखानी र कोगटेको पानीलाई बाँध बनाएर बिजुली उत्पादन गर्न लागिएको हो।

    २०७२ जेठबाट काम थालेको आयोजनाले २ हजार ४ सय २४ मिटर सुरुङमार्ग खनिसकेको छ। सुरुङ खन्ने काम गएको माघ महिनामा सम्पन्न गरेको थियो। ‘हामीले सुरुङ खन्ने काम सम्पन्न गरिसकेका छौं’, आयोजनाका इन्जिनियर रत्न बोमजनले भन्नुभयो– ‘अहिले फिनिसिङको कामहरू भइरहेको छ।

    कम्पनीको लगानीमा आयोजनाको सम्पूर्ण काम शुरुदेखि नेपाली कम्पनी साउथ यसियन इन्फ्रास्ट्रक्चर प्रालि र चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङले गरिरहेको आयोजनाले जनाएको छ। कन्सल्टेन्टको जिम्मेवारी शुरुदेखि नै नेपाली र भारतीयको लगानीमा रहेको फिडब्याक जेभीले लिइरहेको छ। निर्माण ठेक्का पाएको कम्पनीले मकवानपुरको इपापञ्चकन्या–८ बागमती दोभानमा बाँध बनाई २४ सय ४० मिटर तल इपाबेंसीमा रहेको निर्माणाधीन पावर हाउससम्मको काम अन्तिम चरणमा पु¥याएको छ। ‘मुख्य–मुख्य काम सकिसकेको छ। लगभग हामी अन्तिम चरणमै छौं’, कम्पनीका इन्जिनियर बोमजनले भन्नुभयो– ‘अबको असोजभित्र सम्पूर्ण काम सम्पन्न गरेर बिजुली उत्पादन गरिसक्ने आँकलन छ।’

    आयोजनाले यसअघि असारभित्र सम्पूर्ण काम सम्पन्न गर्ने भनिए पनि केही प्राविधिक कारणले गर्दा समय थप गर्नुपर्ने स्थिति आएको बताएको छ। ‘हामीले तीनदेखि चार महिना समय थप्नुपर्ने आँकलन गरिरहेका छौं।’ –बोमजनले भन्नुभयो।

    काम शुरु गर्दा भूकम्प, नाकाबन्दीलगायतले केही ढिलाइ गरेको र पछिल्लो चरणमा सेनाले फास्ट ट्र्याक निर्माण गर्न सडक खन्दा आयोजनाको काममा प्रभाव पर्न गई आयोजनाको काम सम्पन्न हुन समय थप्नुपर्ने भएको आयोजनाको बताएको छ।

    सेनाले दिउँसो सडक उपभोग गर्न दिएको छैन भने रातको समयमा मात्रै सडक उपभोगका लागि खुला गरेको छ। ‘सेनाले एक हप्तामा तीन रात अर्काे हप्ता दुई रात गरी रातिको समयमा मात्रै सडकमा हिँड्न दिएको छ’, इन्जिनियर बोमजनले भन्नुभयो– ‘भनेको समयमा सडक प्रयोग गरी निर्माण सामग्री ढुवानी गर्न नपाउँदा आयोजनाको काममा प्रत्यक्ष प्रभाव परेको छ।’

    इपापञ्चकन्या दोभानमा निर्माणाधीन १० देखि १३ मिटर उचाइको बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्नेछ। मुख्य सुरुङको चौडाइ ३ दशमलव ७ र उचाइ ३ दशमलव ८ डायमिटर रहेको आयोजनाले जनाएको छ। ड्याम बनाउने काम भइरहेको र अबको एक हप्ताभित्र सम्पन्न हुनेछ भने इन्टेक र अन्डर सुल्युस (बालुवा छान्ने ट्यांकी) को काम सम्पन्न भएको छ। सुरुङको फिनिसिङको काम भइरहेको छ। सुरुङको कमजोर चट्टान भएको ठाउँ ४ सय ६० मिटरको भागमा कंक्रिट लाइनिङको काम भइरहेको छ भने अहिलेसम्म ७०–८० मिटर कंक्रिट लाइनिङको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ।

    त्यसै गरी सुरुङकै कडा चट्टान भएको भाग १९ सय ८० मिटरमा सटकंक्रिट लाइनिङको काम सम्पन्न गरिसकेको छ। सुरुङको फिनिसिङ गर्ने बेला कमजोर चट्टान भएको भागमा कंक्रिट लाइनिङ र कडा चट्टान भएको भागमा भने सटकंक्रिट लाइनिङ गर्नुपर्ने प्राविधिक नियम रहेको इन्जिनियर बोमजन बताउनुहुन्छ। आयोजनाको बाँकी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ। पेनस्टक पाइप (टनेल निस्कने ठाउँबाट पावर हाउससम्म पानी लैजाने पाइप) ६ सय १० मिटरमध्येमा २ सय मिटर काम सम्पन्न भइसकेको कम्पनीको दाबी छ।

    ४ अर्ब लागत अनुमानमा निर्माण भइरहेको यस आयोजनाको प्रसारण लाइन जोड्न साढे १३ किलोमिटर तार तान्नुपर्ने हुन्छ। जसमध्ये ८ किमि तार तानिसकेको कम्पनीले जनाएको छ। उक्त तार पावर हाउसदेखि भीमफेदीको धोर्सिङमा ६६ केभी प्रसारण लाइन रहेको कुलेखानी पहिलोको सबस्टेसनमा जोडिनेछ।

    -नेपाल समाचारपत्र