२२० केभी दाना–खुर्कोट सवस्टेशनको काम सकियो

1887

तत्काल दुई विद्युत आयोजना जोडिने

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधिन २२० केभी क्षमताको दाना–खुर्कोट सवस्टेशन र प्रसारण लाइनको काम सकिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत दाना र पर्वतको खुर्कोटमा दुई सवस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर दूरीमा तार तान्ने काम सकिएको छ ।

परीक्षणको काम भइरहेको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए । ‘विदेशी इन्जिनियरको टोली खटिएको छ, एकहप्तामा सम्पूर्ण काम सकिन्छ,’ उनले भने । निर्माणकार्य सम्पन्न भएपछि सामान्य मर्मत तथा केही बाँकी काम सक्न थप एकसाता लाग्ने सहायक प्रबन्धक फुँयालको भनाई छ ।

‘आन्तरिक परीक्षण लगत्तै व्यवसायिक काम सुरु हुन्छ,। केही आयोजनाको उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छ’ फुँयालले भने । उनले उपकरण जडानसँगै निर्माणकार्य सकिएपछि अन्तिम पटक सबै मेसिनको एक–एक गरी परीक्षण गर्न आयोजनाका इन्जिनियर सहित विदेशबाट आएको टोली आयोजनास्थलमै खटिएकाले अव विद्युत आपूर्तीको काम केहीदिन भित्र नियमित हुने बताए । ‘सवस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौं,‘ आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने ।

उनले आयोजनाको कार्यतालिका, स्थानीय र समुदायस्तरमा देखिएका विवाद समाधानसँगै आयोजनाको काम सकिएको बताए । आयोजना निर्माणमा तीन अर्ब रुपैयाँ खर्च भएको प्रमुख घोषले बताए । उनका अनुसार एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजना प्रभावित क्षेत्रमा देखिएको विवाद समाधान भएपछि निर्माण कार्यमा गति लिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘म्याग्दी जिल्लाको विकासमा कोशेढुंगा सावित हुनेछ, विद्युत आयोजनामा थप लगानी भित्रिने वातावरण बनेको छ,’ प्रजिअ अधिकारीले भने । टावर विस्तारमा स्थानीयको अवरोधलाई जिल्ला प्रशासन कार्यालयको अगुवाईमा समाधान गरिएको प्रजिअ अधिकारीले बताए । आयोजना प्रभावित क्षेत्रमा लामो समय स्थानीयको अवरोध, कोरोना भाइरसका कारण प्रभावित भएको आयोजनाले अन्तिम समयमा गति लिएको थियो ।

सवस्टेशनको निर्माणसँगै उत्तरी क्षेत्रमा थप विद्युत आयोजना भित्रिने गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए । ‘विद्युतको हव भएकाले अव लगानीकर्ता आर्कषित हुन्छन, स्थानीयस्तरमा आवश्यकता अनुसारको सहयोग गर्न प्रतिबद्ध छौ’ अध्यक्ष पुनले भने ।

यो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला तयारी अवस्थामै छ । ४२ मेगावाटको मिस्त्रीखोलाले केही महिनाभित्रै व्यवसायिक उत्पादन गर्ने तयारीमा छ । उत्तरी क्षेत्रमा १४ मेगावाटको घारखोला, ६२ मेगावाटको निलगिरी, ३८ मेगावाटको निलगिरी क्यास्केट निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्यले तिब्रता पाएको छ ।

अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज लगायतका आयोजनाहरु समेत छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन सम्पन्न हुन थालेपछि पूर्वाधार निर्माणमा जुट्न थालेका छन् । म्याग्दी, कालिगण्डकी र रघुगंगा नदीबाट विद्युत उत्पादन गर्ने दर्जनौ आयोजनाहरुले लाइसेन्स होल्ड गरेर बसेका छन् ।

 

स्रोत : नागरिक