माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तारको काम प्रारम्भ

    1268

    त्रिशूली(नुवाकोट), फागुन १९ – साठी मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तारको काम प्रारम्भ गरेको छ। प्रसारण लाइन विस्तारका लागि स्थलगतरुपमा कति क्षेत्र समेटिने भनी अध्ययन सकिसकिएको आयोजनाले रुख कटानको प्रक्रिया सुरु गरेको छ।

    आयोजनाको उत्पादन केन्द्र नुवाकोटको मनकामनादेखि काठमाडौंको मातातीर्थसम्मको ४५ किलोमिटर लामो दुई सय २० केभी प्रसारण लाइन विस्तार काम भइरहेको आयोजनाका प्रमुख गोपालबाबु भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार यस क्षेत्रमा बन्ने पाँच सय मेगावाटसम्मको विद्युत् प्रसारणका लागि क्षमता रहेको लाइन निर्माण गर्न लागिएको हो।

    चीन सरकारको सहुलियत ऋण लगानीमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइन विस्तारका लागि मात्र २२ मिलियन अमेरिकी डलर खर्च हुनेछ। प्रसारण लाइन विस्तारको ४५ किलोमिटर क्षेत्रमा पर्ने १५ सामुदायिक वन र केही सरकारी क्षेत्रको रुख कटानका लागि आयोजनाले काम सुरु गरेको छ। सामुदायिक वनमा पाँच हजारभन्दा धेरै रुख कटान हुने आयोजनाले जनाएको छ। सामुदायिक वन र जिल्ला वन कार्यालयको समन्वयमा काम अघि बढिरहेको आयोजना प्रमुख भट्टराईले बताए।

    नियमानुसार सरकारी वन फडानी गर्न नपाइने प्रावधान रहे पनि ठूला आयोजनाका लागि मन्त्रिपरिषद्को निर्णयबाट रुख कटान गर्नुपर्ने प्रावधान रहेकाले मन्त्रिपरिषद्को निर्णयपछि सरकारी वनमा काम थालनी गरिने आयोजनाले जनाएको छ।

    आयोजनाले गरेको प्रारम्भिक प्रतिवेदनमाथि जिल्ला वन कार्यालयले स्थलगत अनुगमन गरेपछि रुख कटानको काम सुरु गरिने जिल्ला वन अधिकृत प्रेमप्रसाद खनालले बताए। आयोजनाको आर्थिक सहयोगमा प्रसारण लाइन परेका सामुदायिक वनका पदाधिकारीका लागि जिल्ला वन कार्यालयले दुईदिने अभिमुखीकरण कार्यशाला सञ्चालन गरिसकेको छ।

    -रासस