सिंगटी हाइड्रोपावरको प्रगति ७५ प्रतिशत

    1893

    सिंगटी-सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिगंटी जलविद्युत् आयोजना ७५ प्रतिशत पूरा भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिठेडले २ वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुराएको हो । आयोजनाको बाँध क्षेत्रमा ९८ प्रतिशत निर्माण सकिएको आयोजनाका निर्देशक काजी लामाले जानकारी दिए । उनका अनुसार बाँध क्षेत्रमा २ प्रतिशत ‘फिनिसिङ’को काम बाँकी छ । आयोजनाको मुख्य सुरुङ प्रतिशत पूरा भएको छ । ६ किलोमिटर लामो सुरुङ ४.९ किलोमिटर खनिसकिएको आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए बताए । अब १.१ किलोमिटर सुरुङ खन्न बाँकी छ । “छोटो समयमा सुरुङ निर्माणमा ठूलो सफलता मिलेको छ,” उनले भने, “इनलेटतर्फको १.६ किलोमिटर खनिएको छ । असोजभित्र बाँकी २ सय मिटर पूरा गर्ने लक्ष्य राखेका छौं ।” इनलेटबाट १.६ किलोमिटर सुरुङ खनिनु ऐतिहासिक भएको आयोजना प्रमुख सापकोटाले दाबी गरे । माघभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
    शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ५० प्रतिशत काम सम्पन्न भएको छ । विद्युत्गृहको आधा काम बाँकी छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । तर जेठ असारदेखि उत्पादन सुरु हुने उनले बताए ।

    विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड स्वपुँजी लगानी रहेको छ । १६ मेगावाटमा निर्माण सुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुराइएको होे ।

    स्रोत : कारोबार