तनहुँ हाइड्रोको आवासगृह निर्माण

    1316

    दमौली-३७ करोडको लागतमा तनहुँ हाइड्रोपावरको आवासगृह तयार भएको छ । रिसिङ गाउँपालिका–१ झापुटारमा हाइड्रोपावरको आवासगृह निर्माण सम्पन्न भएको हो ।
    स्वच्छन्द खानी जेभीले २ कार्यालय भवनसहित ३३ वटा आवासगृह भवन निर्माण गरेको तनहुँ हाइड्रोपावरका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए । आवास क्षेत्रमा आयोजनाका विभिन्न तहका कर्मचारीलाई छुट्टाछुट्टै भवन बनाइएको छ ।

    यसअघि दमौलीमा भाडाको घरमा सञ्चालन हुँदै आएको हाइड्रोको कार्यालयसमेत केही दिनअघि मात्रै सोही ठाउँमा सरेको छ । आवासक्षेत्रमा रहेको भवनमा परामर्शदाताको कार्यालयसमेत रहनेछ ।
    आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता हुनेछ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर तथा ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करसहित बाहेक)मा खरिद सम्झौता हुनेछ ।
    खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माणकार्य डिसेम्बर २०२३ भित्र सक्ने आयोजनाको लक्ष्य छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ ।
    यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

    स्रोत : कारोबार