तामाकोसी प्रवेशमार्ग : वारी सुरुङमार्ग, पारी केबलकार

    1101

    dolkhaवैशाख ३०, २०७३- भूइँचालोपछि कार्यतालिका पछ्याउनबाट चुकेको ले काम चाँडो सक्न ढुवानी र आवागमणका लागि बुधवारदेखि सुरुङमार्ग निर्माण थालेको छ ।
    विद्युतगृह गोंगरदेखि बांधस्थल लामावगर गाउँसम्मको ११ किलोमिटर सडक खण्डमा पर्ने काभ्रेभीरमा करिब ३ सय ६० मिटर लामो सुरुङमार्गको निर्माण थालिएको हो ।

    केवबलकार/रोपवे निर्माण कार्य भने दोस्रो चरणमा निर्माण गरिने आयोजनाले जनाएको छ । रोल्वालिङ डाइभर्सनको लागि ढुवानी सहज गर्न रोपवे बनाइन लागिएको हो ।

    भूइँचालो जानु भन्दाघिसम्म २०७३ सालको मध्यमा ४५६ मेगावाटको उक्त आयोजना सम्पन्न हुने कार्यतालिका थियो । अब, कुनै बिपत्ति नआएमा २०७४ सालको मध्यसम्ममा काम सकिने लक्ष्य आयोजनाले लिएको छ । आयोजनाले करिब ७८ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ ।

    भूइँचालोले निम्त्याएको चर्को भूक्षयको शिकार तामाकोसीले ३ सय ६० सय मिटर सुरुङमार्ग ३ महिनाभित्र सक्ने अनुमान छ । अर्को करिब ३ किलोमिटर सडक खोल्ने कार्य सम्पन्न गरेपछि आयोजनाको जलाशय क्षेत्र हेडवर्कस्सम्म मोटर चालु हुने छ । भूइँचालोले ठूलो क्षति पुर्‍याएको काव्रेभीरको बाहिरी सडक टिकाउ नहुने निश्कर्षपछि भूमिगत मार्ग बनाउन थालिएको आयोजनाको निश्कर्ष छ । ‘बाहिरीसतह कमजोर भएकाले परिपक्क र संधै चालु हुने गरी सुरुङमार्ग निर्माण थाल्यौ,’ आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने । २०७२ बैशाख १२, १३ र २९ गतेको भूकम्पहरुले आयोजना प्रवेशमार्गको सिंगटीदेखि लामावगरसम्म ठाउँठाँउका चेनेजहरु ध्वस्त पारेको थियो ।

    भूकम्पले केही भास्सिएको भनिएको निर्माणाधिन जलाशय क्षेत्रसम्म पुग्नका लागि सडक अबरुद्ध भएको १ बर्षपछि भूमिगत बाटो अर्थात् सुरुङमार्ग बनाउन थालिएको हो । भूकम्पपछि बाटो सुधार नहुँदा लामावगर र तिब्बती सिमाक्षेत्रका वासिन्दालाई हिडडुलमा समेत बाधा परेको छ । खोलादेखि १ किलोमिटर ठाडो भीरबाट छिचोलिएको सडक सामान्य कम्पन र बर्षादको पानीले समेत भत्कने आयोजनाले औंल्याएको छ । सुरुङमार्गको अनुमानित खर्च साढे ११ करोड हुने अनुमान छ । पटकपटक सडक अबरुद्ध हुँदा काममा ढिलासुस्तीको क्षेतीपूर्ति र मर्मतमा लाग्ने खर्चको लेखाजोखा गर्दा भूमीगत मार्ग नै उपर्युक्त भएको विकल्प निकालिएको हो ।

    रोल्वालिङ डाइभर्सनको लागि रोपवे
    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा रोल्वालिङ खोलाको पानी मिसाई थप विद्युत् उर्जा उत्पादन गर्ने कार्य अगाडी बढाउन रोपवे बनाइने भएको छ ।

    निर्माण कार्य सकिएपछि रोपवेलाई केबल कारको रुपमा विस्तार गर्ने सोच आयोजनाको छ । अत्यन्त कठिन र जटिल भौगोलिक अवस्थिति भएकोले छेतछेतदेखि गौरीशंकर गाविसको रिखु गाउँसम्म रोपवे बनाउने परिकल्पना गरिएको हो । उक्त रोपवे गौरीशंकरको सिमीगाउँ हुँदै रिखुसम्म पुग्ने र सोको लम्बाइ करिब साढे २ किलोमिटर हुने आयोजनाको भनाई छ ।

    माथिल्लो तामाकोसीको जलाशयमा ६ किलोमिटर नयां सुरुङबाट सुक्खा मौसममा रोल्वालिङ खोलाको पानी मिसाई सुखा याममा वार्षिक १७ करोड युनिट थप विद्युत् उत्पादन गर्ने कार्य ढुवानी र आवतजावतको लागि रोपवेको यस्तो विकल्प अघि बढाइएको हो । सुरुमा रोपवेमार्फत मालसामान ढुवानी हुन्छ भने मानिसहरु आवतजावत गर्छन् । रोल्वालिङ डाइभर्सनको काम सम्पन्न भएपछि स्थायी रुपमा केबलकारको रुपमा सञ्चालन गर्ने सोंच आयोजनाको रहेको छ ।

    रोल्वालिङ डाइभर्सन अन्तर्गत रोल्वालिङ खोलामा सानो इन्टेक र इन्टेकदेखि माथिल्लो तामाकोसीको जलाशयसम्म करिब ६ किलोमिटर सुरुङ निर्माण हुने गरी जर्मनीको परामर्शदाता लाह्मेर इन्टरनेशनलले डिजाइन गरिरहेको र उक्त डिजाइन कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

    उक्त रोपवेसहित रोल्वालिङ डाइभर्सनको निर्माण कार्य भने माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न भएपछि मात्र निर्माण सुरु गर्ने लक्ष्य रहेको आयोजनाका योजना तथा अनुगमन इकाईका प्रमुख विमल गुरुङले बताए ।

    स्रोत : कान्तिपुर