दोर्दीखोला जलविद्युुत् आयोजना : लगानी जुटाउन अन्तरक्रिया

    1395

    सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङको दोर्दीमा निर्माण गर्न लागेको दोर्दीखोला जलविद्युुत् आयोजनामा लगानी गर्न इच्छुक सर्वसाधारणलाई आह्वान गरेको छ । कम्पनीले बिहीवार पोखरामा अन्तरक्रिया कार्यक्रम आयोजना गरी सर्वसाधारणलाई अग्राधिकार शेयरमा लगानी गर्न आग्रह गरेको हो ।

    लमजुङको दोर्दी गाउँपालिकामा निर्माण हुने आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्तालाई अग्राधिकार शेयर विक्री भइरहेको कम्पनीले जानकारी दिएको छ । अग्राधिकार शेयर खरीद गर्न चाहने शेयर खरीदकर्ताले न्यूनतम १ लाख रुपैयाँ लगानी गर्न पाउनेछन् ।

    अग्राधिकार शेयरका रूपमा खरीद गरिने शेयर सय रुपैयाँबराबर एक कित्ता कायम हुनेछ । खरीद गरेको शेयर २०७७ असार मसान्तसम्म स्वतः साधारण शेयरमा परिवर्तन हुने कम्पनीका शेयर लगानी सल्लाहकार इञ्जिनीयर शम्भु पौडेलले बताए । निर्माण सम्पन्न नहुँदासम्म लगानीकर्ताले जम्मा गरेको रकमको ७ दशमलव ५ प्रतिशत वार्षिक ब्याजस्वरूप कम्पनीले प्रतिफल प्रदान गर्ने उनले जानकारी दिए । ‘कम्पनीले देशविदेशबाट लगानीकर्ता खोजिरहेको छ, केही दिनअगाडि कोरियाबाट समेत अग्राधिकार शेयरको आवेदन आह्वान गरेका छौं,’ उनले भने ।

    १२ मेगावाट क्षमताको आयोजनाको निर्माण शुरू भइसकेको कम्पनीले जानकारी दिएको छ । ३ वर्षभित्र (२०७७) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण अगाडि बढाइएको कम्पनीका निर्देशक प्रभुलाल अधिकारीले बताए । ‘कम्पनीले आयोजना निर्माण गर्न विद्युत् खरीदविक्री सम्झौता, विस्तृत डिजाइन, वातावरणीय अध्ययनलगायतका सबै प्रक्रिया पूरा गरेर निर्माण शुरू गरेको हो,’ उनले भने, ‘अब हाम्रो सम्पूर्ण ध्यान लगानी र निर्माणमा केन्द्रित छ ।’

    २ अर्ब २९ करोड रुपैयाँको लगानीमा निर्माण थालिएको उक्त आयोजनामा सानिमा बैङ्कको नेतृत्वमा लक्ष्मी बैङ्क, कृषि विकास बैङ्क, कैलाश विकास बैङ्कलगायतले १ अर्ब ४० करोडको ऋण लगानी गर्न सम्झौता गरिसकेका छन् । बाँकी रकम कम्पनीका संस्थापक शेयरधनी तथा अग्राधिकार शेयरधनीहरूमार्फत सङ्कलन गर्ने कम्पनीले जानकारी दिएको छ ।

    आयोजना सञ्चालक समूह सीईडीबी हाइड्रोपावरले लमजुङमा ४ दशमलव ४ मेगावाट क्षमताको राधी साना जलविद्युत् आयोजना तोकिएको समयअगावै सम्पन्न गरिसकेको छ । त्यसैगरी ११ मेगावाटको तल्लो खारेखोलाको निर्माण तीव्रगतिमा भइरहेको छ ।

     

    Source :Aarthik Abhiyan