वाग्मतीबाट २२ मेगावाट विद्युत्

Bagmati Hydropower Project 22 MW

मकवानपुर — नेपाल विद्युत् प्राधिकरण र सरकारी लगानीमा मकवानपुरको भैंसेमा निर्माणाधीन कुलेखानी–३ जलविद्युत् आयोजना काम सुरु भएको ९ वर्ष बितिसक्दा पनि सकिएको छैन । निर्माण सम्पन्न भएको खण्डमा पनि १४ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

तर मकवानपुरमै निजी क्षेत्रबाट निर्माण सुरु गरिएको २२ मेगावाट वाग्मती जलविद्युत् आयोजनाले भने स्थानीयमा खुसी सिन्चेको छ । इपापन्चकन्या–८ वाग्मती दोभानमा निर्माणाधीन आयोजनाको २२ महिनाको अवधिमा ८० प्रतिशत काम सकिइसकेको छ ।
एक महिनाअघि नै आयोजनाको २ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङको ‘ब्रेकथ्रु’ भइसकेको छ । आगामी असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ४ सय कामदारले रात दिन काम गरिहेको आयोजनाले जनाएको छ । निजी क्षेत्रको माण्डु हाइड्रो पावर कम्पनी र चाइनिज कम्पनीको संयुक्त लगानीमा लक्ष्यअनुसार निर्माण सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर रत्न बोम्जनले बताए । उनले भने, ‘आगामी असार महिनाभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ वाग्मती खोलाबाट विद्युत् उत्पादन गर्ने उक्त आयोजना पहिलो हो ।
सिइच्वाङ हेइच्वाङ चाइनिज कम्पनीको सहयोगमा माण्डु हाइड्रोपावर कम्पनीले चार अर्बको लगानीमा वाग्मती साना जलविद्युत् आयोजनाको निर्माण कार्य २०७२ जेठमा सुरु भएको हो । ‘भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य सुरुमा अवरुद्ध भए पनि लक्ष्यअनुसार काम सक्ने माण्डु हाइड्रो कम्पनीका प्राविधिक सुरज पन्तले बताए । वाग्मती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको वेयर (बाँध) निर्माण गरी सुरुङमार्फत इपापञ्चकन्याको बगरबेंसीस्थित पावर हाउसमा पुर्‍याएर विद्युत् उत्पादन गरिने पन्तले बताए ।
‘वाग्मतीमा निर्माण गरिने ५५ मिटर लामो वेयर (बाँध) वैशाख महिनाभरिमा निर्माण गरिसक्छौं ।’ इन्जिनियर बोम्जनले बताए । वाग्मतीको निर्माण गरिएको बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने गर्छ । वाग्मतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस (विद्युत् गृह) २ हजार ४ सय ४० मिटरको दूरीमा छ । मुख्य सुरुङ अर्थात् टनेलको चौडाइ ३ दशमलव ७ र उचाइ ३ दशमलव ८ डायमिटर छ । वाग्मती र कोगटेको पानी थुनेर सुरुङतर्फ लैजान बाँध बनाउने कार्य पनि अन्तिम चरणमा छ ।
आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिल वर्कको कार्य नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको हो । नेपाली प्राविधिक र नेपाली मजदुरबाट आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण, पेनेस्टक पाइप जडान गर्ने स्थल निर्माण लगायतका कार्य गरेको इन्जिनियर महेन्द्र अधिकारीले बताए । उक्त नेपाली कम्पनीसँग विद्युत् आयोजनाको यो भन्दा लामो र जोखिमयुक्त सुरुङ खनिसकेको अनुभव छ ।
इपापञ्चकन्याको दोभान र पावरहाउस रहने क्षेत्र बगरबेंसीबाट गरी दुवै तर्फबाट आयोजनाको सुरुङ खनिएको थियो । विद्युत्गृह क्षेत्र निर्माणको कामसँगसँगै इलेक्ट्रो मेकानिकलको काम पनि तीव्र गतिमा भइहेको छ । ‘विद्युत् गृह निर्माणको कार्य आगामी असारको पहिलो सातासम्ममा सम्पन्न गरिसक्छौं,’ इन्जिनियर योगेश सुवेदीले भने, ‘सिभिल वर्कको कामका निम्ति पावर हाउसमा २ सय जना कामदार खटिएका छन् भने इलेक्ट्रो मेकानिकलको काममा ५ चिनियाँसहित ३० नेपाली कामदार र प्राविधिक खटाइएको छ । पावर हाउसका लागि आवश्यक ९० प्रतिशत उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । आयोजनाको ६ सय मिटर लामो पेनेस्टक पाइप राख्ने काम पनि धमाधम भइरहेको छ । ‘स्थानीयवासी र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत जनप्रतिनिधिको सहयोग भएकाले निर्माण कार्यलाई गति दिन सहज भएको’आवासीय इन्जिनियर बोम्जनले भने,यो विद्युत् आयोजना नेपालको नमुना आयोजना बनाउँछौं ।’
तोकिएको समयमा नै विद्युत् उत्पादन गरेर प्राधिकरणलाई बिक्री गर्नेछौं । माण्डु हाइड्रोपावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।
आयोजनाको इलेक्ट्रो मेकानिकलको काम चाइनिज कम्पनीले गरिरहेको छ । आगामी असारको अन्तिमसम्म विद्युत् उत्पादन गरेर कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङको राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । आयोजनाको पावरहाउसबाट कुलेखानी प्रथमको सबस्टेसन साढे १३ किलोमिटरको दूरीमा छ । कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पुर्‍याउन ४४ वटा टावर निर्माण गर्नुपर्छ । ४२ वटा टावर निर्माण गरेर तार तान्ने काम धमाधम भइरहेको छ । २ वटा टावर एक साताभित्रमा निर्माण हुने इन्जिनियर बोम्जनले बताए ।
मकवानपुरको अत्यन्त विकट क्षेत्रमा विद्युत् उत्पादनको निर्माण कार्य सुरु भएपछि स्थानीयवासी समेत हर्षित देखिन्छन् । उनीहरू आयोजनाको निर्माण छिटो सक्न लागिपरेका देखिन्छन् । आयोजनाबाट प्रभावित मकवानपुरको इपापञ्चकन्या, सिस्नेरी, कोगटे र ललितपुरका माल्टा र धुसेल गाविसका बासिन्दालाई कम्पनीले सेयर वितरण गर्ने जनाएको छ । आयोजनाले सिंगो मुलुकको ऊर्जा क्षेत्रमा सहयोग पुर्‍याउनुका साथै प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा लिएका छौं ।’ भीमफेदी गाउँपालिकका अध्यक्ष लामाले भने, ‘यो आयोजना सक्दो छिटो सम्पन्न गर्न यस क्षेत्रका बासिन्दाले सहयोग पुर्‍याउँदै आएका छन् ।’ आयोजनाकोबाँध र सुरुङको निर्माणस्थलको सुरक्षाको निम्ति नेपाली सेनाको बेस क्याम्प पनि दोभानमा राखिएको छ । विकास निर्माणका काम कसरी गर्नुपर्छ भनेर यो विद्युत् आयोजनाबाट सिक्न सकिने पूर्वसांसद सुभाषचन्द्र ठकुरीले बताए ।
स्रोत:कान्तिपुर