त्रिशूली ‘थ्री ए’ समस्यामा, सञ्चालक समितिमा निर्णय अल्झियो

    1158

    गोरखा भूकम्पका कारण नराम्ररी समस्यामा फसेको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनालाई पुनः कसरी अगाडि बढाउने भन्नेमा आवश्यक निर्णय हुन नसक्दा थप जटिलता पैदा भएको छ ।

    कुल ६० मेगावाट क्षमताको सो आयोजनाको पहुँचमार्ग नेपाली सेनाले निर्माण गरे पनि थप काम कसरी अगाडि बढाउने भन्ने विषयमा प्राधिकरणले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।
    इन्धन अभाव र नाकाबन्दीका कारण समस्यामा फसेको सो आयोजनाका लागि प्राधिकरण सञ्चालक समितिले निर्णय गर्नुपर्ने अवस्था आएको छ । तर प्राधिकरणको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकमा भूकम्प र नाकाबन्दीबाट समस्यामा परेका आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ठोस निर्णय भएनन् ।

    माथिल्लो त्रिशूली थ्री एको पहुँचमार्गमध्ये पाँच किलोमिटर सडक भूकम्पका कारण नामोनिसान समेत नरहेपछि सरकारले नेपाली सेनालाई आग्रह गरेको थियो । सरकारको पछिल्लो निर्णयअनुसार तत्काल काम सुरु गर्न सकिए आगामी दुई वर्षभित्र सम्पन्न गर्न सकिने बताइएको छ ।

    सरकारले गल्छी–रसुवागढी सडक निर्माणको जिम्मा नेपाली सेना र सडक विभागलाई दिएको थियो । चिनियाँ ठेकेदार काम गर्न तयार भए पनि सडकको अभावमा बाँधस्थलसम्म पुग्न समस्या थियो ।

    भूकम्प र नाकाबन्दीका कारण निर्माणस्थलमा पुग्न नै समस्या भएपछि थप कुन उपायका आधारमा अगाडि बढाउने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।

    आयोजना प्रमुख फणिन्द्रराज जोशीकाअनुसार सञ्चालक समितिले केही विषयमा निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएका कारण आयोजना अगाडि बढ्नसकेको छैन । यस्तै क्षति मूल्याङ्कन पनि गर्नुपर्ने अवस्था देखिएको छ ।

    व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिले दिएको निर्देशन अनुरुप पहुँचमार्ग निर्माण भए पनि थप काम अगाडि बढ्न नसक्दा जटिलता पैदा भएको आयोजनाले जनाएको छ ।

    सरकारले गत फागुन ६ गते जारी गरेको ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनामा भूकम्पबाट क्षति भएका आयोजनालाई शीघ्र अगाडि बढाउने उल्लेख गरेको भए पनि हालसम्म काम सुरु नसक्दा आयोजनाको लागत र समय समेत बढेको छ ।

    कुल ६० मेगावाट क्षमताको सो आयोजना चालु आवको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । चीनको आयातनिर्यात बैंकको लगानीमा निर्माण भएको सो आयोजनाको लागत रु आठ अर्ब रहेको छ ।

    भूकम्प र नाकाबन्दीका कारण समय र लागत बढेपनि पछिल्लो पटक प्राधिकरणले निर्णय नगर्दा थप जटिलता पैदा भएको छ । इन्जिनियरिङ, प्रोक्रुरमेन्ट र कन्ट्रक्सन ढाँचामा निर्माण भइरहेको सो आयोजना ६५ प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भएको थियो ।

    चिनियाँ ठेकेदार गेजुवाले निर्माण गरिरहेको सो आयोजनाको पुनःनिर्माण थाल्न प्रस्ट निर्णयको जरुरी रहेको बताइन्छ । नुवाकोट र रसुवाको सीमा नजिक निर्माण भइरहेको आयोजनालाई तत्काल अगाडि बढाएर ऊर्जा सङ्कट समाधानमा जोड दिनुपर्ने आवाज उठेको त छ तर निर्णय हुन सकेको छैन ।

    आयोजनामा काम सुरु हुननसक्दा निर्माण उपकरण लगायतका सामग्री पनि अलपत्र अवस्थामा रहेको छ । सो आयोजना निर्माण सम्पन्न हुन नसक्दा त्रिशूली थ्री बीको काम पनि अगाडि बढ्न सकेको छैन ।

    यस्तै प्राधिकरणले अगाडि बढाएका कुलेखानी तेस्रो र चमेलियाको काममा समेत उल्लेख्य प्रगति हुनसकेको छैन । सरकारले सबै आयोजनालाई तत्काल अगाडि बढाउने भने पनि निर्माणस्थलमा काम सुरु हुन सकेको छैन ।

    कुलेखानी तेस्रोको इलेक्ट्रो मेकानिकलको काम अगाडि बढ्न सकेको छैन भने चमेलियाको खुम्चिएको सुरुङको काम रोकिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खुम्चिएको विषयमा प्रस्ट निर्णय नगर्दासम्म काम सुरु नगर्ने अडान राख्दै आएको बताइन्छ । प्रसारण लाइनको काम सम्पन्न भइसकेको भए पनि खुम्चिएको सुरुङ अगाडि बढाउने विषयमा न त प्राधिकरणले निर्णय गरेको छ न त आयोजनाले कुनै विकल्प नै दिएको छ ।

    रासस