Transmission Line Condition for PPA

    1139
    After conformation of Second Cross Boarder Transmission Line, Nepal Electricity Authority  will start PPA which was stopped saying surplus energy in wet month.

    पिपिए प्रसारण लाइन सर्त

    trl-energyकाठमाडौं- बर्खामा बिजुली खेर जाने भन्दै विद्युत खरिद सम्झौता (पिपिए) रोकेको नेपाल विद्युत प्राधिकरणले नेपाल–भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन बन्ने सुनिश्चत भएपछि पुनः पिपिए गर्ने भएको छ।
    निर्माणाधीन जलविद्युत आयोजनाका लागि योजनामा परेका र निर्माणाधीन लाइन ‘प्याक’ भएकाले थप बिजुली प्रसारण तथा व्यापार गर्न दोस्रो अन्तरदेशीय लाइन आवश्यक रहेको प्राधिकरणका उच्च अधिकारीले औंल्याएका छन्।
    प्राधिकरणले प्रस्ताव गरेको चार सय केभी बर्दघाट–गोरखपुर (करिब तीन सय किलोमिटर) को अध्ययन भइरहेकाले यसको कार्यान्वयन गर्न सरकारले भारतसँग समन्वय गरी छिटो निर्माण थाल्नुपर्ने विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
    ‘निर्माणाधीन चार सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनमा १२ सय मेगावाटसम्म बिजुली प्रवाह हुने भए पनि पिपिएका आधारमा यो प्याक भइसकेको छ,’ उनले भने, ‘नयाँ पिपिए गर्न र बिजुलीको बजार खोज्न दोस्रो लाइन बन्नुको विकल्प छैन।’
    उक्त प्रसारण लाइन अहिले प्राधिकरण इन्जिनियरिङ निर्देशनालयअन्तर्गतको आयोजना विकास विभागले अध्ययन गरिरहेको छ। निर्देशनालयका अनुसार पर्याप्त जनशक्ति नहुँदा लक्ष्यअनुसार अध्ययन अगाडि बढ्न सकेको छैन। प्राधिकरणले अबको चार वर्षपछि उत्पादित बिजुलीको लागि बजार नखोजिएको भन्दै पिपिए गरेको छैन।
    उसले सन् २०१७ पछि बर्खामा झन्डै २२ सय मेगावाट बिजुली उत्पादन हुने र ५ सय मेगावाट खेर जाने प्रक्षेपण गरेको छ। प्राधिकरणका अनुसार त्यतिबेला उच्चतम माग करिब १७ सय मेगावाट मात्र हुनेछ। हिउँदको अभाव पूरा गर्न भने भारतबाट आयात गर्नुपर्नेछ। प्रसारण लाइन बने बर्खाको बढी बिजुली भारतलाई दिने र हिउँदमा ल्याउने इनर्जी बैंकिङ प्रणालीमा जान आवश्यक रहेको पनि उसले सरकारलाई सुझाएको छ।
    प्रधानमन्त्री सुशील कोइराला भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा भारत जाँदा पनि दोस्रो अन्तरदेशीय प्रसारण लाइन र विद्युत व्यापारका विषय उठाउन सुझाव दिएको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘नेपाली बिजुलीको बजार भारत नै भएकाले उच्च सरकारी तहमा समन्वय गरी दोस्रो लाइन बनाउन जरुरी छ,’ मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले भने।
    प्राधिकरणले नेपाल–भारतबीच बन्न सक्ने चार सय केभीका थप चार प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो। प्राधिकरणका अनुसार भरतपुर–पूर्णिया, सुनौली–गोरखपुर–हेटौंडा–गोरखपुर र हेटौंडा–बलिया प्रसारण लाइनको अध्ययन गरेको थियो। तीमध्ये प्राविधिक र वित्तीय हिसाबले बर्दघाट–गोरखपुर सस्तो पर्ने हुँदा तत्कालका लागि यही आयोजना अगाडि बढाइएको प्राधिकरण अधिकारी बताउँछन्।
    बजार नखोजिएसम्म पिपिए नगर्ने प्राधिकरणको घोषणापछि यसका लागि तीन महिनायता निजी क्षेत्रबाट कसैले आवेदन दिएका छैनन्। दुईदेखि आवेदन दिएर रोकिएका २५ मेगावाट साना आयोजनाको कारबाही भइरहेको विभागले जानकारी दिएको छ। निर्देशक शाक्यले भने, ‘आवेदन दिएर वित्तीय व्यवस्थापन गर्न नसकेका वा अन्य कारणले पिपिए गर्न नआएका आयोजनालाई पत्राचार गरिएको छ, ती आएनन् भने विस्तारै रद्द हुनेछ।’
    प्रस्तावित दोस्रो अन्तरदेशीय लाइन बनाई बिजुली आयात–निर्यात र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनसँग जोड्न हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट २२० केभी लाइन बनाउन जरुरी रहेको प्रसारण निर्देशानलयका अधिकारी बताउँछन्। हाल निर्माणाधीन चार सय केभी ढल्केबर–मुजफ्फरपुरको प्रसारण लाइनको सहायकका रुपमा पनि बर्दघाट–गोरखपुर निर्माण गर्न जरुरी देखिएको छ।
    उक्त लाइन निर्माणपछि मर्स्याङ्दी, कालीगण्डकी, तामाकोसी र लिखु नदी बेसिनमा बन्ने आयोजनाको बिजुली भारत निर्यात गर्न सहज हुनेछ। यस्तै हिउँदमा नेपाललाई आवश्यक पर्दा उताबाट आयात गर्नसमेत सजिलो हुने हुँदा निजी क्षेत्रले समेत दोस्रो अन्दरदेशीय लाइन बनाउन प्राधिकरणलाई सुझाव दिएको छ।
    उक्त लाइन बन्ने सुनिश्चत भए धमाधम पिपिए गरे पनि बिजुली खेर नजाने प्राधिकरणका कर्मचारीको तर्क छ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर लाइन विस्तार गर्दै ढल्केबर–लिखु–तामाकोसी–३ सम्मको चार सय केभी लाइन पनि अध्ययन गरिरहेको छ।
    उक्त लाइन चार सय केभीमै खिम्ती–बाह्रबिसे–मुलपानी जोड्ने र यसलाई सोही क्षमतामा मुलपानी–नौबिसे–हेटौंडासम्म विस्तार गरेर अन्तरदेशीय लाइनमा जोड्ने गरी बृहत् अध्ययन भइरहेको चार सय केभी आयोजनाका प्रमुख गोपालबाबु भट्टराईले बताए। चक्रीय प्रसारण लाइनले सप्तकोसी, दूधकोसी, भोटेकोसी नदी बेसिनमा बन्ने आयोजनाको बिजुली भारत पठाउन सजिलो बनाउने छ।
    Source : Nagarik New