नलगाड जलविद्युतको मुआब्जा पाउने ३ हजार ८६१ जनाको नामावली सार्वजनिक

1737

३१ भदौ, काठमाडौं । सरकारले जाजरकोटमा निर्माण हुन लागेको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले मंगलबार मुआब्जा पाउने जग्गा धनीहरूको नाम सार्वजनिक गर्दै जलाशयबाट प्रभावित स्थानमा अधिग्रहण प्रक्रिया थालेको हो ।

आयोजनाबाट बारेकोट गाउँपालिकाअन्तर्गत पर्ने साविकको सकला गाविसका वडा नं. १, २, ३, ४, ७, ८ र ९, नायकवाडाका ५, ६, ७ र ८, रोकायागाउँका ६ र ९ सँगै रामीडाँडाका १, २, ३ र ६ वडा डुबानमा पर्ने अनुमान गरिएको छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ (१) अनुसार अघि बढाइएको अधिग्रहण प्रक्रियामा ३ हजार ८ सय ६१ जग्गाधनीको नाम मुआब्जा पाउनेको सूचीमा छ ।

मुआब्जा पाउनेहरुको नाम र जग्गाको क्षेत्रफल सार्वजनिक गरेको प्रशासनले मुआब्जा प्राप्तिका लागि १५ दिनभित्र जग्गाधनी प्रमाणपत्रलगायतका कागजातसहित सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रशासनका अनुसार, सूचीमा छुटेका या चित्त नबुझेका व्यक्तिले पनि कार्यालयमा सम्पर्क राखेर गुनासो बिसाउन सक्नेछन् । गुनासो अध्ययन गरेर आवश्यक निर्णय लिने प्रशासनको भनाइ छ ।

सरकारले यस वर्ष नलगाड आयोजनाका सबै पीडितलाई मुआब्जा बाँड्ने गरी दुई अर्ब ७२ करोड रकम छु्ट्याएको छ । हालसम्म आयोजनाको बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण भएको थियो ।

यो आयोजनामा लामो समयदेखि रकम अभाव थियो । प्रत्येक वर्ष सरकारले बजेट छुट्याए पनि बजेट अपुग हुँदै काम अगाडि बढ्न सकेको थिएन ।

मुआब्जा वितरण गरिएको ठाउँमा योभन्दा अगाडि प्रतिरोपनीको चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो ।

४१७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

यो आयोजनाबाट ४१७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका-७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण हुनेछ । बाँधस्थल अँधेरीखोलादेखि दल्ली विद्युत् उत्पादन गृहसम्मको सुरुङमार्गको लम्बाइ आठ किलोमिटर हुने प्राविधिक अनुमान छ ।

आयोजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सकिन अझै धेरै समय लाग्ने सम्भावना छ । स्मेक/एमडब्लुएच कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिएको छ । समयमै उसले प्रतिवेदन नदिँदा पनि आयोना अघि बढाउन ढिलाइ हुन पुगेको छ । दुईपटक म्याद थप्दा पनि कम्पनीले विभिन्न समस्या देखाउँदै डीपीआर तयार गर्न ढिलाइ गरेको छ ।

त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणकार्य केही समयअघि मात्रै सुरु भएको थियो ।

यो आयोजनाबाट उत्पादन हुने विजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्न नलगाड नगरपालिका-७ को दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सबस्टेशन निर्माण कार्यका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण कार्य पनि सुरु गरिँदैछ । त्यहाँबाट ११२ किलोमिटरको प्रसारणलाइन बनाएर कोहलपुर सबस्टेसनमा जोड्ने योजना छ ।

 

स्रोत:अन्लाईनखबर