लगानी बोर्डले साढे ३८ अर्ब लगानी स्वीकृत गर्‍यो

1609

कार्तिक २६, २०७७

काठमाडौं: लगानी बोर्डले तीन वटा परियोजनाका ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले यो लगानी स्वीकृत गरेको हो।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको धुन्साखोला जलविद्युत परियोजनाको १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाको १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दूधखोला जलविद्युत परियोजनाको १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो।
बैंठकमा बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरि बोर्डको रणनीतिक योजना तयार गर्ने छलफल भएको थियो। लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रलाई स्वचालित बनाएर सहज र शीघ्र सेवा प्रदान गर्ने छलफल भएको बोर्डले जनाएको छ।

नलेज म्यानेजमेन्ट पोर्टल स्थापना गर्ने समेत निर्णय भएको छ। प्रधानमन्त्री ओलीले  परियोजना कार्यान्वयनमा भइरहेको ढिलाइप्रति चासो राख्दै प्रविधिको प्रयोग गरेर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए। पछिल्लो समयमा बोर्डमार्फत हुने परियोजनाको काम प्रभावकारी बन्न नसकेको निजी क्षेत्रबाट गुनासो आएको थियो। यही गुनासोलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले यो आग्रह गरेका हुन्।

उनले कोरोनाका कारण नियमित बैठक बस्न नसकेको बताउँदै आगामी दिनमा नियमित बस्ने जानकारी दिए। बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत भइरहेका परियोजनाका बारेमा जानकारी गराएका थिए।

Source: Bizmandu