विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

1812

कार्तिक २४, २०७७

काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए ।

यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।

कोइराला निमित्त प्रमुख भएपछि शाक्य प्राधिकरणमा आएका थिएनन् । आफू भन्दा कनिष्ठ कोइराला पदेश अध्यक्ष हुने भएकाले उनले यो बीचमा कम्पनीको सञ्चालक समिति बैठक पनि बोलाएनन् ।

तर, कोइरालाले नै उनलाई प्राधिकरणमा फिर्ता बोलाउने गरी गरेको निर्णय भने शाक्यले स्वीकार्नुपर्ने अवस्था बन्यो ।

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए ।

शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको  परियोजनामा पनि खटिएका थिए ।

प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए ।

केही समयअघि राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा उनले भनेका थिए,’इन्जिनियरिङका हिसाबले अहिले गरिरहेको काममा नै म सन्तुष्ट छु, तर राज्यले मेरो योग्यताको मूल्याङ्कन गरेर दिने जिम्मेवारीमा भने तयार नै छु ।’ शाक्यले सधैं आफू पन्छाइरहने त होइन भन्ने आशंका रहेको पनि बताएका थिए ।

‘कुलमानजीलाई प्राविधिकरूपमा सहयोग गरेकै हो । उहाँसँग काँधमा काँध मिलाएर काम गरेकै हो । सबै हिसाबले म सक्षम मान्छे हो । बाहिरबाट नयाँ नयाँ मान्छे ल्याउने हो वा दिने हो भने कार्यकारी निर्देशकमा मेरो पनि दाबी रहन्छ,’ उनले भनेका थिए ।

पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गरेका छन् । उनले प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।

 

स्रोत:अन्लाईनखवर