अन्तरदेशीय प्रसारण लाइन

    2483

    २ वर्षभित्र निर्माण पूरा

    साउन १७, काठमाडौं ।

    wpid-powerlines.jpegढल्केवर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम २ वर्षभित्र पूरा गरिने भएको छ । सो प्रसारण लाइन समयमै पूरा गर्न कम्पनीको छनोट कार्य अन्तिम चरणमा पुगेको पावर ट्रान्समिशन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) का प्रोजेक्ट मेनेजर बद्रीनारायण शाहले अभियानलाई बताए ।  पीटीसीएनको बुधवार बसेको बैठकले सो प्रसारण लाइन निर्माणका लागि इच्छुक ८ कम्पनीको प्राविधिक प्रस्ताव उपयुक्त भएको ठहर गरेको छ । ‘प्राविधिक प्रस्तावपछि आर्थिक प्रस्ताव खोलिनेछ,’ उनले भने, ‘आर्थिक प्रस्ताव उपयुक्त भएको कम्पनीलाई प्रसारण लाइन निर्माणको काम दिइनेछ ।’ छनोटमा परेका कम्पनीको १५ दिनभित्र आर्थिक प्रस्ताव खोलिने पनि उनले बताए । उपयुक्त आर्थिक प्रस्ताव भएको कम्पनीसँग सम्झौता गरी प्रसारण लाइन निर्माणको काम अघि बढाइने निर्णय भएको उनले बताए । उक्त प्रसारण लाइनको निर्माण कार्य ३ महीनाभित्र शुरू गरिने भएको छ । प्रसारण लाइनको काम शुरू भएको २ वर्षभित्र पूरा गरिसक्ने योजना रहेको शाहले बताए ।

    नेपाल भारतबीच विद्युत् व्यापार विकास गर्न प्रसारण लाइन निर्माण गर्न लागिएको हो । नेपाली भूभागमा पर्ने ३९ दशमलव ५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि पीटीसीएन कम्पनीको स्थापना गरिसकिएको छ । उक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ६४ प्रतिशत, पावर ग्रीड भारतको २६ प्रतिशत तथा आईएल एण्ड एफएस इनर्जी सर्भिसेजको १० प्रतिशत शेयर रहेको छ । यसैगरी भारतीय भूमिमा पर्ने ८९ किलोमिटर प्रसारण लाइन निर्माण गर्न पनि ८ कम्पनीले इच्छा देखाएका हुन् । ती कम्पनीको प्राविधिक प्रस्ताव छनोट गर्ने काम अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन निर्माण गर्न भारतको क्रस बोर्डर पावर ट्रान्समिशन कम्पनी लिमिटेड, इण्डिया (सीपीटीसी)को गठन भइसकेको छ । भारततर्फको कम्पनी सीपीटीसीमा पावर ग्रीड भारतको २६ प्रतिशत, सतलज जलबिद्युत निगमको २६ प्रतिशत, आईएल एण्ड एफएस इनर्जी सर्भिसेजको ३८ तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत शेयर रहने  सहमति भइसकेको छ ।

    यसअघि नेपाल—भारत अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत निर्माण गरिने प्रस्तावित ढल्केवर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइन आयोजनाको विकास, निर्माण तथा सञ्चालनका लागि नेपाल र भारतका लगानीकर्ता सहमत भएका थिए । प्रसारण लाइन निर्माणले नेपालबाट उत्पादित विद्युत् भारतीय बजारसम्म पुप्याउन र भारतको विद्युत् नेपाली बजारमा आयात गर्न सहज हुने अपेक्षा गरिएको छ । आयोजना निर्माण कार्य थालनी गर्न आवश्यक विभिन्न प्रारम्भिक कार्य सम्भाव्यता अध्ययन, बृहत् सर्वे, वातावरणीय तथा सामाजिक अध्ययन, प्रारम्भिक इञ्जिनीयरिङ डिजाइनजस्ता कार्य पूरा भइसकेका छन् भने अन्य कार्य अगाडि बढाइने भएको छ । प्रसारण लाइन निर्माणबाट नेपालको विद्युत् विकासका साथै राष्ट्रको समग्र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

    २०६८ मङ्सिर २६ मा नेपाल विद्युत् प्राधिकरणले दुवै कम्पनीसँग प्रसारण लाइन विस्तारसम्बन्धी बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । सोही प्रसारणलाइनमार्फत आयात हुने गरी १ सय ५० मेगावाट विद्युत् खरीद गर्ने सम्बन्धमा २०६८ मङ्सिर २७ मा  विद्युत् प्राधिकरण र सीपीटीसीबीच हस्ताक्षर भएको थियो ।

    Source : Abhiyan