तातोपानी जलविद्युत आयोजनाको भल्भ फुट्दा विद्युत गृहमा पानी, ठूलो क्षति हुनबाट जोगियो

1503

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको स्वामित्वको तातोपानी साना जलविद्युत आयोजनाको मुख्य इनलेट भल्भ फुट्दा विद्युतगृहमा पानी भरिएको छ।

विद्युत गृहमा खटिएका कर्मचारीले समयमै सावधानी अपनाई जेनेरेटर लगायतका महत्वपूर्ण सामान सुरक्षित राख्न सफल भएकाले ठूलो क्षति भने हुन नपाएको विद्युतगृहका प्रमुख सुनिल सापकोटाले बताए।

अहिले जलविद्युत केन्द्रको विद्युत गृहमा भरिएको पानी सुकाउने काम भइरहेको छ। विद्युतीय उपकरणमा पानी पसिसकेपछि काम लाग्ने सम्भावना थोरै हुन्छ। पानी सुकाएर उपकरण जाँच गरेपछि मात्रै वास्तविक क्षतिको विवरण आउने उनले बताए।

प्राधिकरणका पुराना जलविद्युत आयोजनामध्ये तातोपानी साना जलविद्युत आयोजना पनि एक हो। आज भन्दा ३२ वर्ष पहिलेदेखि निरन्तर सञ्चालनमा आएको आयोजनाको आज बिहानमात्रै मुख्य भल्भ फुटेर दोस्रो युनिटको उत्पादन बन्द भएको हो।

म्यग्दीमा अन्नपूर्ण गाउँपालिका ४ घरापमा रहेको २ मेगावाटको उक्त आयोजना प्राधिकरणले २०४५ बैशाख १ गतेदेखि सञ्चालनमा ल्याएको थियो।

बिगतमा बेनी, बागलुङ र पोखरामा विद्युत वितरण गर्ने उदेश्यले निर्माण गरिएको यस आयोजनाको विद्युत अहिले भने मोदी स्थित ३३  केभी प्रसारणलाइन मार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको सापकोटाले बताए।

(फोटोहरु सुनिल सापकोटाको फेसबुकबाट)

स्रोत : बिज्मंदु