Sunkoshi Hydro dam in high risk

    2399

    सिन्धुपाल्चोक-सुनकोसी नदी बहावले बगाएर ल्याएको लेदोले मुख थुनेपछि विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको बाँध उच्च जोखिममा परेको छ।

    सुनकोसी थुनिएको बाँधको मुख खिइएर एक्कासी बहाव बढेपछि बगाएर ल्याएको चट्टाने लेदोले नहरका ६ र बाँधको चारवटा मुख थुनेको छ। दुई मुखबाट मात्र केन्द्रीत भएर तीव्र गतिमा बहेको सुनकोसी बहावले आड लिएको अरनिको राजमार्ग कटान गर्न थालेपछि बाँध संरचना खतरामा परेको हो।

    sunkosi_dyam_katan-2

    ‘बाँध उच्च जोखिममा परिसमेको छ। जुनसुकै अवस्थामा पनि भत्किन सक्छ,’ केन्द्रका वितरण प्रमुख बद्री फुँयालले नागरिकसँग भने। सेनाले बिस्फोटक पदार्थ र एक्स्काभेटर प्रयोग गरेर लगातार बाँध खोस्रिरहेको क्षेत्र (सेकेन्डरी च्यानल) मै पानीको तीव्र बहावले तालको मुख शनिबार बिहान ह्वात्तै खोल्दा नहर र बाँधको मुख थुनेको थियो।

    अहिले बीचको एक र पूर्वपट्टीको एक मुखबाट अहिले सुनकोसी बहिरहेको छ। बहावले पूर्वपट्टीको राजमार्ग क्रमशः काटिरहेको छ। यहाँ बाँधले आड लिएको छ। राजमार्गमा आड लिएको एउटा स्पाम (खम्बा) खोतल्दै पानी पुनः फर्केर छेउको मुखबाट बहिरहेको छ। बहावले क्रमशः आडतिरको राजमार्ग कटान गरिरहेको छ। बुधबारसम्म करिव २० मिटर सडक बहावले तान्दा राजमार्ग सम्पर्क टुटेको छ। सतहबाट १० मिटर उचाइ दिएको सडक काटेर बहावले भित्तातिर कटान गरिरहेको छ।

    प्रमुख फुँयालले अलि ठूलो बाढी आए र कटान जारी रहे बाँध बग्न सक्ने औंल्याए।’बाँध र नहर जोगान प्रयास गरिरहेका छौं,’ उनले भने। उनका अनुसार मुख खुल्दा बाँधबाट प्रतिसेकेन्ड ७ सय क्यूमेक पानी बहेकोमा अहिले घटेर ४ सय क्यूमेक पुगेको छ। पानी बहाव बर्षामा बहने सुनकोसीको तुलनामा दोब्बर भन्दा बढी हो। वर्षामा औसतमा सुनकोसीमा प्रतिसेकेन्ड १ सय ८० क्यूमेक पानी बग्छ।

    sunkosi_hydro_dyam_n_nahar

    बहाव राजमार्गतिर सोझिएपछि बाँधस्थलबा बासिन्दा घर छोडेर अन्यत्र लागेका छन् भने बाँधमा सेनाले पहरा दिन छोडेको छ। थुनिनुअघि साढे २ किमी लामो नहरमा लेदो छिर्दै उत्पादन गृहमा पुगेको थियो। केन्द्रका अनुसार उत्पादन गृहको टवाईन र जेनेटरमा लेदो जमेको छ।

    घटनाकै दिन बाँधको दुई मुख बाढीले बगाएको थियो भने आयोजना जोगाउन नहरको ६ वटै मुखका ढोका बन्द गरिएका थिए। ढोका फोरेर लेदो पानी नहरमा पसेको थियो। नहरको भित्रीमुख लेदोले भरिएपछि फर्किएको पानीले बाँधका मुखमा पनि लेदो थुपारेर थुनेको थियो। नहर भरिएर पानी खस्दा खाडीचौर–ड्याम जोड्ने केन्द्रको एक किमी पक्की सडकसमेत बगाएको छ। नहरमा जमेको पानी भने पम्म गरेर नदीमा छोडिएको प्रमुख फुयाँलले बताए।’नहरमा अझै लेदो जमेको छ,’ उनले भने।

    कान्ले चट्टाले बाँधबाट नदी स्लोप (भिरालो) परेकाले बहाव तीव्र छ। फुयाँलले पहिलो नहर जोगाउन मुखमा ग्याविङ लगाउने तयारी भइरहेको बताए।’त्यसपछि थुनिएको बाँध खुलाएर नदी निकास दिंदै संरक्षण गर्ने योजनामा छौं,’ उनले भने। कटान रोकिए मात्र संरक्षण गर्न भ्याइने उनले बताए। घटनाको दिन बाढीले बाँधको ढोका बगाउँदा १५ करोड रुपैयाँ क्षति भएको प्रतिवेदन स्थानीय प्रशासनद्धारा गठित प्राविधिक समितिले सरकारलाई बुझाएको छ।

    Source : Nagarinews