पश्चिम सेतीमा वार्ता गर्न चिनियाँ टोली अाउँदै

    1438

    काठमाडौं – बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना चिनियाँ कम्पनीले बनाउने कि स्वदेशी लगानीमा निर्माण गर्ने भन्ने अन्योल भइरहेको बेला चिनियाँ कम्पनीको उच्चस्तरीय टोली नेपाल आउने भएको छ।

    उक्त आयोजना बनाउन चिनियाँ कम्पनी चाइना थ्री–गोर्जेज इन्टरननेसनल कर्पोरेसन (सिटिजिआई) को सहायक कम्पनी सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले खासै चासो नदेखाएपछि सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको थियो।तर, हालै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त आयोजना निर्माणका लागि अन्तिमपटक चिनियाँ कम्पनीलाई मौका दिने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार बोर्डले चिनियाँ कम्पनीलाई पत्र पठाएको थियो।

    बोर्डको पत्रको जवाफ दिँदै उसले छिट्टै उच्चस्तरिय वार्ता टोली पठाउने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले आइतबार नागरिकलाई बताए । ‘वार्ताका लागि चिनियाँ कम्पनीले हाई लेभल डेलिगेसन पठाउने कुरा मेलमार्फत जानकारी गराएको छ,’ उनले भने, ‘छिट्टै नै चिनियाँ टोली नेपाल आउनेछ र पश्चिम सेतीका बारेमा देखिएको अहिलेको अन्योल हट्नेछ।’

    बोर्डको बैठकले पश्चिम सेती आयोजना निर्माणमा देखिएको अन्योल आगामी दुई महिनाभित्र अन्त्य गर्ने निर्णय गरेसँगै वार्ताका लागि चिनियाँ कम्पनीलाई पत्र पठाएको थियो । ‘एक साताअघि हामीले चिनियाँ कम्पनीलाई पत्र पठाएका थियौं,’ सिइओ अधिकारीले भने, ‘त्यसको प्रतिक्रिया दिँदै चिनियाँ कम्पनीले उच्चस्तरीय टोली आउने जानकारी गराएको हो।’

    बोर्डले आयोजना निर्माणमा देखिएको अन्योल हटाउन निर्णायक वार्ता गर्ने उद्देश्यले उसलाई बोलाएको हो ।
    गत जेठ १५ मा चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए । तर त्यसपछि बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म चिनियाँ कम्पनीलाई बोलाउने निर्णय गरेको थियो।

    विगतमा यो आयोजना बनाउने विषयमा धेरै विवाद भएको थियो । कहिले चिनियाँ कम्पनीलाई दिने, कहिले सरकार आफैंले स्वदेशी लगानीमा निर्माण गर्ने, कहिले भारतीय कम्पनीलाई दिनेजस्ता धारणा र विवाद आएका थिए । यसैलाई चिर्दै चालु बजेटमा स्वदेशी लगानीमा यो आयोजना बनाउने भनिएको थियो ।सिइओ अधिकारीका अनुसार बोर्ड बैठकले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आयोजना निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा दुई महिनाभित्र चिनियाँ कम्पनीसँग छलफल गरी टुंगोमा पुर्याउन अधिकार दिएको छ ।अहिले स्वदेशी वा चिनियाँ कम्पनीमध्ये कसले बनाउने भन्ने विवाद छ । आयोजनाबाट थ्री गर्जेजले हात झिक्यो भन्ने समाचार पनि आएका थिए।

    यसअघि बोर्डले पश्चिम सेती आयोजनाका सम्बन्धमा एक समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बोर्डलाई बुझाएको छ । उक्त प्रतिवेदन अध्ययनपछि बोर्डले यस्तो निर्णय गरेको बताइन्छ । आयोजना प्रदेश ७ मा छ ।
    केही महिनाअघि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुन्यिङले आयोजनाबाट हात नझिकेको बताएकी थिइन् । भारतीय समाचारपत्र द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गर्दै लेखेको समाचारमा नेपाल सरकारसँग आयोजनाको आर्थिक सम्भाव्यता लगायत सम्बन्धमा कुराकानी भइरहेको उल्लेख थियो।

    ‘पश्चिम सेती आयोजनाबाट हामीलाई हटाइएको समाचारमा कुनै सत्यता छैन, यो आयोजना व्यापारिक हिसाबले हाम्रा लागि महŒवपूर्णमध्ये एक हो,’ प्रवक्ता चुन्यिङको भनाइ उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको थियो ।’
    यसअघि नै नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच उक्त आयोजना निर्माण गर्न संयुक्त लगानी सम्झौता (जेभिए) मा हस्ताक्षर भएको थियो । हस्ताक्षरस“गै २० वर्षभन्दा बढी समयदेखि चर्चामा रहेको आयोजना निर्माणतर्फ अगाडि बढ्ने अपेक्षा गरिएको थियो ।बोर्डले जेभिए अनुमोदन गरेपछि आयोजना निर्माणका लागि पश्चिम सेती जलविद्युत् कम्पनी बन्ने सहमति भएको थियो । कम्पनीमा प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको क्रमशः २५ र ७५ प्रतिशत सेयर रहने भनिएको छ । कम्पनीले स्थानीयबासीलाई १० प्रतिशत सेयर दिनेछ।

    प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकम जुट्न नसके चिनिया“ एक्जिम बैंकबाट सहुलित ब्याजदरमा ऋण लिन चाइना थ्री गर्जेजले  सहयोग गर्ने समझदारीमा उल्लेख थियो । आयोजनाको अनुमानित लागत एक खर्ब ६० अर्ब रुपैया“ छ । आयोजनाको लगानी २५ प्रतिशत इक्विटी र ७५ प्रतिशत ऋणबाट जुटाउने प्रस्ताव गरिएको छ । बोर्डले आयोजनामा विदेशी लगानी स्वीकृत गरिसकेको छ । नेपालभित्रै विद्युत् खपत हुने गरी सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न लागिएको थियो । अस्ट्रेलियन कम्पनी स्मेकले उक्त आयोजना १५ वर्ष ओगटेको थियो ।

    source: NagarikNews