नयाँ सरकारलाई ऊर्जाविद्को सुझाव

    1257

    काठमाडौं (अस) । नयाँ बन्ने सरकारलाई ऊर्जाका सम्बन्धमा सुझाव दिन विज्ञहरूले तयारी गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)द्वारा बुधवार राजधानीमा आयोजित विज्ञहरूको भेलाले यस क्षेत्रका मुलभूत मुद्दाहरू तय गरेको हो ।

    आगामी बन्ने सरकारलाई विद्युत् नियमन ऐन जतिसक्दो चाँडो ल्याउन, विद्युत् खरीद दर पुनर्विचार गर्न सुझाव दिने तयारी भेलाले गरेको इप्पानका उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए । त्यसैगरी, आयोजना विकासका लागि लगानी जुटाउने तथा आयोजनाको लागत भार घटाउन आर्थिक सहयोग (भायाबिलिटी ग्याप फण्डिङ) जस्ता विषयमा पनि सरकारलाई सुझाव दिने भेलाको योजना छ ।

    भेलामा सहभागी पूर्वऊर्जासचिव सुमन शर्माले ऊर्जाको विषयमा नेपालको बार्गेनिङ क्षमता बढाउनुपर्ने बताए । ‘हाम्रो बार्गेनिङ पावर कमजोर भएसम्म राष्ट्रिय हितका काम गर्न सकिँदैन,’ उनले भने, ‘बार्गेनिङ पावरका लागि ऊर्जा सुरक्षा प्राथमिकतामा पर्छ ।’ विद्युत् वितरण प्रणालीमा सुधार गरी माग सृजना हुने वातावरण बनाउनु पर्नेमा उनको जोड रहेको छ । भेलामा आयोजना विकासकर्ताहरू, बैङ्क, कण्ट्र्याक्टर तथा सम्बन्धित निकायका व्यक्तिहरूको संलग्नता रहेको थियो ।

    स्रोत:अभियान