बुढीगण्डकीको मुआब्जा दिन थालियो

    1079

    वैशाख ३, २०७४- बुढीगण्डकीले डुबानमा पार्ने २३ घरपरिवारको ३८ कित्ता जग्गाको मुआब्जा बैंकमा पठाएर स्थानीय प्रशासनले शुक्रबारदेखि वितरण थालेको छ ।

    मालपोत र नापी कार्यालय मार्फत जग्गा बुढीगण्डकी आयोजनाको नाममा दर्ता गरी मुआब्जा पाउन निवेदन दिएकाहरूमध्ये पहिलो दिन २३ परिवारको ५० रोपनी जग्गाको ३ करोड ७ लाख ५९ हजार ७ सय २५ रुपैयाँ सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकमा पठाएको हो ।

    आयोजनाले डुबानमा पार्ने गाविसहरूमध्ये मुआब्जा पाउन हाललाई खरी, मैदी र सलांग गाविसका १ हजार ४ सय जनाले दिएको निवेदनको आधारमा दर्ता क्रमअनुसार वितरण थालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

    प्रजिअ ढकालका अनुसार थप १ सय ८० घरको ७ सय ७९ रोपनी जग्गाको ४४ करोड ८९ लाख ५६ हजार ९ सय ८ रुपैयाँ अर्को सोमबारसम्म बैंक पठाइने बताए । बैंक गएको सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिएर उक्त रकम बैंक पठाइनेछ र व्यक्तिले आफ्नो प्रमाण पेस गरी बैंकमा खाता सञ्चालन गरेर रकम प्राप्त गर्नेछन् ।

    धादिङतर्फको मुआब्जा वितरण गर्न हाल २ अर्ब ५० करोड रकम प्राप्त भइसकेको र २८ हजार ७८ रोपनी जग्गामध्ये स्थानीय आरुघाट र खहरेबजारको मुआब्जा निर्धारण नभएको आयोजनाले जनाएको छ ।

    स्रोत:कान्तिपुर