हिउँदमा लोडसेडिङ हुनसक्ने सङ्केत

    1548

    काठमाडौँ, असोज २० गते । धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ ।
    ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले यस्तो सङ्केत देखा परेको हो । मुजफफपुर–ढल्केवर प्रशारण लाइनबाट नेपालले २०० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको थियो । गतवर्षको हिउँदमा हाल यो प्रशारण लाइनबाट करिब १४५ मेगावाट बिजुली आयात गरिएको थियो । बिभिन्न नाका भएर गत वर्ष भारतबाट ३८५ मेगावाट जति आयात गरेको नेपालले ढल्केवरसहित यस वर्षको हिउँदमा यो वर्ष ४८० मेगावाट ल्याउने तयारी गरिरहेको थियो ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार २२० केभी क्षमताको सव स्टेसन निर्माणका लागि ठेक्का सम्झौता भएको चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीपीपीजी) ले सन्तोषजनक काम नगरेपछि उससँगको ठेक्का सम्झौता तोडिएको छ । अर्काे ठेक्का प्रक्रिया गर्न लामो समय लाग्ने भएकाले प्राधिकरणलाई आगामी हिउँदको समयमा यस्तो चुनौती थपिएको हो ।

    निर्धारित समयमा काम गर्नका लागि ठेकेदार कम्पनीसँग ऊर्जा मन्त्री, ऊर्जा सचिव तथा प्राधिकरणका उच्च अधिकारीले विभिन्न पटक आग्रह गरेका थिए तर ठेकेदार कम्पनीले गत साउनमै ८० प्रतिशत काम सम्पन्न गरिसकेको सव स्टेसनमा पछिल्लोपटक काम ठप्प रोकेपछि प्राधिकरणले ठेक्का तोड्न बाध्य भएको जनाएको छ ।
    देशभरि नै विद्युत् माग बढिरहेका बेला भारतबाट बिजुली आयात गर्ने योजना सफल नहुँदा आउँदो हिउँदमा उपत्यकालगायतका लोडसेडिङमुक्त गरिएको स्थानमा विद्युत् आपूर्तिमा केही समस्या आउन सक्ने प्राधिकरणका अधिकारीले बताएका छन् ।

    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भन्नुभयो, “ सो प्रशारण लाइनबाट यो वर्ष कम्तीमा २०० मेगावाट ल्याउने योजना हामीले बनाएका थियौँ तर ढल्केवर सवस्टेसे ठेक्का तोडिएपछि हाललाई यो सम्भव नहुने भयो । ” ढल्केवर सवस्टेसनमा ठेकेदार कम्पनीले प्रभावकारीरूपमा काम गरेको खण्डमा दुई महिनाभित्र सम्पन्न हुने थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो चिनियाँ कम्पनीसँगका ढल्केवर, इनरुवा र हेटौँडा गरी तीनवटा सव स्टेसनको ठेक्का तोडिएको जानकारी दिनुभयो । ठेक्का तोडिएपछि तीनवटा सव स्टेसनको काम अवरुद्ध भएको छ ।

    ढल्केवर सव स्टेसन बन्न नसके पनि भारतबाट आयात गरिने भनिएको ५५ मेगावाट बिजुली टनकपुर प्रशारण लाइन मार्फत ल्याउने प्रयास गरिने प्राधिकरणले जनाएको छ तर टनकपुर नाकाबाट भित्रिएको बिजुली प्रशारण लाइनको अभावमा बुटवलदेखि पूर्वतर्फ ल्याउन नसकिने प्राविधिक समस्या पनि रहेको प्राधिकरणका अधिकारीले बताएका छन् ।
    भरतपुर–बर्दघाट प्रशारण लाइनको काम गरिरहेको सोही ठेकेदार कम्पनीसँग प्राधिकरणले ठेक्का तोडेर उसको करिब ३० करोड रुपियाँ बैङ्क ग्यारेन्टी जफत गरेपछि सो ठेकेदार कम्पनीले ढल्केवर सव स्टेसनको काम गर्न पनि रोेकेको थियो । २२० केभीको भरतपुर – बर्दघाट प्रशारण लाइन सन् २०१० मा सम्झौता गरी सन् २०१३ मा सम्पन्न गर्ने योजना बनाएको थियो तर निर्धारित समयमा काम गर्न नसकेपछि प्राधिकरणले ठेक्का तोडेको हो । ७५ किलोमिटरको प्रशारण लाइनमा २४० वटा टावर निर्माण गर्नुपर्नेमा सो कम्पनीले ७० वटा टावरमात्र निर्माण गरेको प्राधिकरणल जनाएको छ ।

    हाल ढल्केवर सव स्टेसनका सबै उपकरण आयोजनास्थलमा पुगिसकेका र सिभिल तर्फको ९० प्रतिशत काम सम्पन्न भइसकेको भए पनि चिनियाँ ठेकेदार कम्पनीले ऊर्जा मन्त्रालय र प्राधिकरणको आग्रहलाई नटेरी काम रोकेको बताइएको छ ।

    प्राधिकरणसँग सो ठेकेदार कम्पनीले सन् २०१४ को जुन १२ मा सम्झौता गरी सन् २०१५ को डिसेम्बरमा काम गर्ने सम्झौता गरेको थियो । त्यसपछिका समययता चारपटक म्याद थप्दासमेत काम गर्नसकेको थिएन ।
    नेपाल भारतलाई विद्युत् प्रशारण लाइनमा जोड्ने प्रमुख कडीका रूपमा हेरिएको ढल्केवर सव स्टेसनलाई प्राधिकरकणले निकै महìकांक्षी योजना मानेको थियो ।

    लक्ष्मीप्रसाद उपाध्याय