दोर्दीखोला जलविद्युत् आयोजनाको संरचना परीक्षण सुरु

1284

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाले संरचना परीक्षण सुरु गरेको छ । बाँधक्षेत्र अन्तर्गतका संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले बिहीबारदेखि खोलाको पानी सुरुङतर्फ डाइभर्सन गरी संरचना परीक्षण सुरु गरेको हो ।
आयोजना प्रवद्र्धक हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय दोर्दी गाउँपालिकालाई पत्राचार गर्दै बिहीबारदेखि खोलाको पानी डाईभर्सन गरी आयोजनाको बाँध, इन्टेक र डिसेन्डरलगायतका संरचना परीक्षण गर्न लागिएको जनाएको थियो । दुई दिनसम्म पानी डाइभर्सन गरी संरचना परीक्षण गरिने र केही सातापछि मात्रै आयोजनाको पूरा परीक्षण गरिने आयोजनाका गुरुप्रसाद ढकालले जानकारी दिए ।
करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको सो आयोजनाले आगामी जेठ महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ भने सुरुङतर्फ र हाइड्रो मेकानिकलतर्फ केही थोरै काम सम्पन्न हुने चरणमा रहेको ढकालले बताए ।
२०७४ असारबाट व्यावसायिक उत्पादन थाल्ने लक्ष्य लिएको आयोजना निर्धारित समयभन्दा तीन वर्ष बढी समय लगाएर निर्माण सम्पन्नको चरणमा रहेको छ । निर्माण अवधिको समय थपिएसँगै आयोजनाको लागत पनि बढेको छ । आयोजनाका अनुसार सुरुमा चार अर्ब २३ करोड रुपैया“को लागतमा अनुमान गरिएकोमा आयोजना निर्माण सम्पन्न हुँदासम्म चार अर्ब ८० करोड पुग्ने अनुमान गरिएको छ ।
भारतीय नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी र त्यसपछि विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको प्रभावका कारण आयोजना निर्माणको निर्धारित समयभन्दा बढी समय लागेको आयोजनाले जनाएको छ ।
दोर्दी खोला जलविद्युत् आयोजनाले २३ असार २०६८ मा लाइसेन्स पाएको हो । नेपाल विद्युत् प्राधिकरणस“ग सुक्खायाममा ८ रुपैया“ ४० पैसा र वर्षायाममा ४ रुपैया“ ८० पैसा दररेटमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।
दोर्दीखोलाको बहावलाई पाँच किलोमिटर लामो सुरुङमार्फत मस्र्याङ्दी नदीमा लगेर मिसाइने छ । सो आयोजनाबाट वार्षिक १४२.४८६ मेगावाट प्रतिघण्टा विद्युत् शक्ति उत्पादन हुनेछ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिने बताइएको छ ।
आईएमई समूहअन्तर्गतको हिमालयन पावर पार्टनर कम्पनीको स्वामित्वमा रहेको ‘दोर्दी खोला जलविद्युत् आयोजना’ को ५१ प्रतिशत सेयर एनआरएन इन्भेस्टमेन्ट कम्पनीले खरिद गरेको छ । ‘पब्लिक लिमिटेड कम्पनी भएकाले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने प्रावधानअनुसार आयोजनामा अन्य बैंकको पनि लगानी रहेको छ । आयोजनामा ऊर्जा विकास विभागअन्तर्गतको जलविद्युत् लगानी कोषको ५० करोडसहित विभिन्न बैंकको ३ अर्ब १७ करोड ऋण रहेको छ ।

स्रोत : कारोबार