घलेम्दीखोला जलविद्युत्को ५ करोड ५० लाखको आईपीओ स्वीकृत

    1158

    म्याग्दी (अस) । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले आईपीओ निष्कासनका लागि स्वीकृति पाएको छ । कम्पनीलाई स्थानीय बासिन्दाका लागि ५ करोड ५० लाखबराबरको ५ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइएको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । उनका अनुसार आयोजनाको करीब ९२ प्रतिशत काम सकिएको छ । आयोजनाका पावरहाउस, पेनस्टक पाइप र ‘सर्ज ट्याङ्क’को काम तीव्र गतिमा अगाडि बढेको छ ।

    आयोजनाको मुख्य ड्याम, बालुवा थिग्र्याउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण र डिसेण्डर बेसिनको काम सकिएको अवस्थामा आईपीओ निष्कासनका लागि स्वीकृति प्राप्तिले थप सहज भएको कम्पनी सचिव रिजालले जानकारी दिए ।

    निजीक्षेत्रको पहलमा जिल्लामै पहिलोपटक विसं २०७१ सालदेखि निर्माण थालिएको आयोजनाको विद्युत्गृहमा मेशिन जडान अन्तिम चरणमा पुगेको छ । सय मिटर सुरुङ जोडिएपछि दुवैतर्फ फिनिसिङको काम भइरहेको छ । आगामी असोज महीनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ । घलेम्दीखोलाको धार परिवर्तन गरी दुवैतर्फबाट निर्माण सम्पन्न भएपछि लगानीकर्तासमेत उत्साहित भएका छन् ।

    सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १ सय ५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिन्छ । ३८ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा १ हजार ३ सय जना संस्थापक शेयर लगानीकर्ता छन् भने वित्तीय संस्थाबाट ५५ करोड कर्जा लिइएको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरीद गर्नेछ । वार्षिक साढे १८ करोड रुपैयाँबराबरको विद्युत् खरीद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरीद गर्ने बताइएको छ ।

    अन्नपूर्ण गाउँपालिकाकै दाना सबस्टेशन निर्माणाधीन अवस्थामा रहेकाले परीक्षण उत्पादनलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न अहिले भएको क्षमताले पुग्ने भएकाले परीक्षण लगत्तै व्यावसायिक उत्पादन गरिने कम्पनीको भनाइ छ । घलेम्दीको शेयर विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।

    स्रोत:अभियान