सेती खोला जलविद्युत् आयोजनाको निर्माण ६ महिनाभित्र

    1466

    रुपन्देही – अधिकांश रुपन्देहीका नागरिकको लगानीमा २५ मेघावाटको जलविद्युत आयोजना शुरु हुने भएको छ।  झन्डै ५ अर्बको लागतमा एक हजारको सामूहिक लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को भराभुरी भन्ने स्थानमा सेती खोला जलविद्युत् आयोजना शुरु हुने भएको हो।

    भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी जलविद्युत आयोजना निर्माण प्रक्रिया शुरु गरेको हो। मंसिर ६ गते नेपाल विद्युत प्राधिकरण र भिजन लुम्बिनी उर्जा कम्पनीबीच विद्युत खरिद सम्झौता (पिपिए) भएको छ। सम्झौता अनुसार आयोजनाबाट उत्पादित विद्युत् वर्षायामको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिँउदको ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ।

    प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले पिपिएमा हस्ताक्षर सहित सम्झौता गरेका हुन्। यो सम्झौतापछि आयोजनाको भौतीक पूर्वाधार निर्माण प्रक्रियामा गएको मातृ संस्था भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए। उनले नेपालमै नमूनाका रुपमा सेतीनदी जलविद्युत आयोजनालाई अगाडि बढाइएको बताए।

    प्राविधिक रुपमा अध्ययन पूरा भएको र सरकारसँग पिपिए भइसकेकाले अबको ६ महिनाभित्रमा आयोजनाको भौतिक पूर्वाधारको काम शुरु हुने उनको भनाई छ। आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बुटवल र कास्कीका लगानीकर्ताहरू समावेश गराइएको छ। पब्लिकहरूको सानो सानो लगानीबाट नेपालमै नमूना जलविद्युत आयोजना शुरु गर्ने कोसिसमा लागेको अध्यक्ष पोखरेलले बताए। ‘जलश्रोतको अपार भण्डार, प्राकृतिक सम्पदाको मुहान सहित पर्यटकिय सौन्र्दयताले भरपुर नेपाल गरिब छैन, हामी धनी बनाएर सबैलाइ आर्थिक समृद्धिसँग जोड्न चाहन्छौं’ उनले भने।

    कम्पनीले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपालमा जलविद्युत मार्फतनै देश समृद्ध बनाउन सकिने बताएको छ। अनावश्यक हुने खर्चको कटौती र नियन्त्रण गर्दै कमिशनलाई निरुत्साहित गर्ने कम्पनीको प्रतिबद्धता छ।  नेपालको पानी : जनताको लगानी भन्ने राष्ट्रिय नारालाई साकार पार्ने उदेश्यले सामूहिक लगानीमा जलविद्युत आयोजनालाई अगाडि बढाइएको आयोजनाका इन्जिनियर लेखनाथ पाण्डेले बताए। उनले प्राविधिक हिसाबले कम भन्दा कम लागत लाग्ने गरि आयोजना सम्पन्न गर्ने बताए।

    नेपालीले भोगिरहेको विद्यमान उर्जा संकटालाई यो आयोजनाले केही हदसम्म हल गर्ने कम्पनीका प्राबिधिक इन्चार्ज रतनलाल अग्रवालले बताए। उनले प्राविधक रुपमा सेती जलविद्युत आयोजना सुचारु गर्न तम्तयार भएको बताए।  आयोजनाको ३० प्रतिशत स्वपूजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। नेपालमा जलविद्युत आयोजनामा निजी क्षेत्रले चासो दिँदै आएका छन।

    पछिल्लो समय साना आयोजनाहरू निर्माणधीन चरणमा छन। उर्जा संकट बढ्दै गएकाले त्यसलाई आपूर्ति गर्न यस्ता आयोजना सहयोगी हुने सरकारको समेत विश्वास छ।  यो आयोजना सञ्चालनका लागि गत साउन १७ गते पोखराको माछापुच्छ्रे गाउँपालिकासँग १४ बुँदे सहमति गरिसकेको छ। समझदारी पत्रमा स्थानीयले शेयर खरिद गर्न चाहेमा १ घर १ शेयर, स्थानीयको सीप क्षमताको आधारमा रोजगारी, उचित मुआब्जा, माछापुच्छ्रे माध्यमिक विद्यालयको आर्थिक अवस्थामा सुधार ल्याउन भिजन लुम्बिनीले दश लाख आर्थिक सहयोग दिने सहमति गरेको छ।

    बुटवलमा २०७५ सालमा स्थापना भएको भिजन लुम्बिनीले शिक्षा, स्वास्थ्य, ब्यापार, पर्यटन, अर्थ ,कृषि, संचार, तथा उर्जामा फरक–फरक रुपमा काम गर्ने लक्ष्य राखेको छ। सामूहिक लगानीबाट आर्थिक रुपमा सक्षम र सबल हुने सोँचका साथ भिजन लुम्बिनीले एक हजार शेयर सदस्य बनाएको छ। ५ लाख र २ लाखका शेयर सदस्य छन्।

     

    स्रोत:नागरिक