योजना आयोगका उपाध्यक्ष वाग्लेको राजिनामा

    1220

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको खण्डमा आजै राजीनामा दिने उनले पत्रकार सम्मेलनमा बताए ।

    पत्रकार सम्मेलनमा नै वाग्लेले पदबाट राजिनामाको घोषणा गरेका छन् ।त्यसपछि वाग्ले राजिनामा पत्र बोकेर प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । ‘प्रधानमन्त्रीज्यूको समय मागेको छु, अघिदेखि राजिनामा पत्र बोकेर प्रधानमन्त्री कार्यालयमा छु, प्रधानमन्त्रीज्यूसँग भेट हुन पाएको छैन, अब केही समय पर्खिन्छु, ’ वाग्लेले भने ।

    नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ आmूले राजिनामा दिएको उनले बताए । सरकारले नियुक्त गरेका पदहरु मध्ये प्रधानमन्त्रीले राजिनामा दिएसँगै योजना आयोगको उध्यक्ष र सदस्यहरुले पनि राजिनामा दिने प्रचलन छ । योजना आयोगको अध्यक्ष प्रधानमन्त्री हुने हुनाले अध्यक्ष परिवर्तन भएपछि उपाध्यक्षले पनि राजीनामा दिने गरिएको बुझिन्छ ।

    वाग्लेले योजना आयोगका पुनःसंरचना नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयन, दिगो विकास, आर्थिक सुधार, संघीयतामा आयोगको भूमिका, देशभर विविध विषयमा तथ्यांक संकलन, भूइँचालोजस्ता दैवीविपत्तिको प्रभाव मूल्यांकन, केन्द्रीय तथ्यांक विभागको स्तरोन्नति, राष्ट्रिय गौरवका आयोजनाको शीघ्र कार्यान्वयनलगायत विषयमा आयोगले छ महिनामा उल्लेखनीय काम गरेको बताए ।

    नेपालको विकासको भावी कार्ययोजना, राष्ट्रिय विकास स्वयंसेवा, दशवर्षीय विकासको मार्गचित्र, आर्थिक, सामाजिक एवं वातावरणीय उन्नयन, आर्थिक गणना, तथ्यांकमा आधारित नीति तर्जुमा, आधुनिक ऊर्जाको उपयोगजस्ता विषयमा आयोगले तयार पारेका योजनालाई सरकारी अभिलेखमा समावेश गरिएको जानकारी पनि उनले दिए ।

    गत साउन १९ गते उपाध्यक्षमा नियुक्त भएका वाग्लेको कार्यकाल साढे ६ महिनाको रह्यो । काँग्रेस नेतृत्वको सरकार गठनसँगै वाग्ले उपाध्यक्षमा नियुक्त भएका थिए । उनी अघि माओवादी नेतृत्वको सरकारबाट डा. मिनबहादुर श्रेष्ठ उपाध्यक्ष थिए । कांग्रेस र माओवादीले आलो पालो सरकार सञ्चालन गरेसँगै उपाध्यक्षमा पनि आलोपालो राजनीतिक नियुक्ति भएको थियो ।

    मुलुक संघीयतामा गएसँगै हाल राष्ट्रिय योजना आयोगको पनि पुनरसंरचनाका बहसहरु चलेका छन् ।

    स्रोत:कारोबार